खोटाङ । शुक्रबार साँझको भारी वर्षापछि आएको भीषण बाढीले मध्यपहाडी लोकमार्गको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला क्षेत्रको करिब २५–३० मिटर सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । बाढीका कारण भोजपुरबाट काठमाडौँ र भोजपुरतर्फ जाँदै गरेका बस, सुमो तथा मोटरसाइकल यात्रु अलपत्र परेका छन् ।
सडक खुलाउन नगरपालिकाले डोजर, स्काभेटर र कामदार परिचालन गरेको छ भने प्रहरी चौकी चिउरीडाँडा र जिल्ला प्रहरी कार्यालयबाट पनि टोली खटिएको छ । केही समय लाग्ने भएकाले यात्रुलाई धैर्य गर्न आग्रह गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिए ।
यसैबीच, गएराति आएको बाढीले यही जेठ १७ गते श्रम संस्कृति पार्टीका श्रमदाताले तीन दिन लगाएर निर्माण गरेको काठे पुल पनि बगाएको छ । पक्की पुल अलपत्र रहेको अवस्थामा बिरामी र विद्यार्थीको सहज आवागमनका लागि बनाइएको उक्त काठे पुल बाढीले बगाएपछि पैदल यात्रुसमेत समस्यामा परेका छन् । पार्टीका प्रदेश अध्यक्ष प्रताप राईले दीर्घकालीन समस्या समाधानमा सम्बन्धित निकायको ध्यानआकार्षण गराएका छन् ।
पङ्खुखोलामा वि.सं. २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण थालिएको थियो, तर ठेकेदारको लापरबाहीका कारण पुल अझै अलपत्र छ । यसका साथै गएराति मध्यपहाडी लोकमार्गकै साप्सुखोलामा आएको बाढीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ र साकेला गाउँपालिका–१ को सीमानामा रहेको निर्माण व्यवसायीको ब्रेकर बगाएको छ ।
भीषण वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिए । जिल्लाका अधिकांश ग्रामीण सडक कच्ची अवस्थामा रहेकाले हरेक वर्ष जेठदेखि कात्तिक अन्तसम्म करिब छ महिना अवरुद्ध हुने गरेको छ, जसले यात्रुलाई पैदल हिँड्न बाध्य पार्दै आएको छ ।
सम्बन्धित समाचार
सुजिता हत्याकाण्डका १० आरोपीलाई सफाइ
पर्यटकको रोजाइमा कोशी टप्पु
सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण
हसिना सिमसारमा शिरिषको वैँस
बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
प्रतिनिधि सभा बैठक विपक्षीद्वारा अवरोध
प्रेस स्वतन्त्रताको पक्षमा डडेल्धुरामा एउटै स्वर
जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयनमा दोहोरो दबाब






