मल, बीउ र कीटनाशक औषधि नै लक

बर्खेबाली लगाउने बेला संक्रमणबाट ज्यान जोगाउने कि परिवारको पेट भर्नेे भन्ने दोधार बाँकेका किसानलाई उत्पन्न भएको छ । उनीहरू कोबिड–१९ को संक्रमणबाट जोगिन आह्वान गरिएको लकडाउनका कारण समस्यैसमस्याको बाढीबाट गुज्रिन बाध्य छन् ।

लकडाउनको कारण सबैभन्दा बढी कृषि क्षेत्र प्रभावित भएको पाइएको छ । हुन त कोरोनाको कहरले कुनै पनि क्षेत्रलाई अछुतो नराखे पनि कृषि क्षेत्रलाई भने अत्यन्तै समस्या परेको गुनासो किसानको छ । कोरोना संक्रमणबाट जोगिन आह्वान गरिएको लकडाउनकै बीच बाली भिœयाउनेदेखि खेतमा तयार भएको कृषि उपज बजारसम्म पु¥याउने र बर्खे बाली लगाउन मल, बीउको जोहो गर्नेलगायतका झमेला बेहोेर्न बाध्य छन् ।

बाँके खजुरा मनकामनाका युवा कृषक लक्ष्मण सापकोटाले लकडाउनका कारण खेतमा भएको उत्पादन बजारसम्म लैजान समस्या हुनुको साथै खेतमा लगाएको बेमौसमी तरकारीमा आवश्यक मल र कीटनाशक नहुँदा खेती चौपट भएको बताए । ‘अहिले खेतमा भएका तरकारी बजारमा लैजान असहज छ,’ उनले भने, ‘बजार बन्द हुँदा भेटनरी पनि बन्द भएकाले कीटनाशक अभावमा कीराले तरकारी खेती नष्ट गरेको छ ।’ उनले कीटनाशको अभावमा करिब पाँच कठ्ठामा लगाएको भान्टामा कीरा लागेर सबै खेर गएको बताए ।

चार बिघा जमिनमा व्यावसायिक तरकारी लगाउँदै आएका युवा कृषक सापकोटा एग्रोभेट बन्द हुँदा कीटनाशक अभावमा तरकारी बाली कीराले नष्ट गरेको बताउँछन् । ‘अहिले भान्टा मात्र कीराले नोक्सान पु¥याएको छ बिस्तारै अरू खेतीमा पनि कीराले नोक्सान पार्न लागेमा रोकथामको लागि कीटनाशक पनि छैन, नोक्सानमाथि नोक्सान थपिने होला ।’ उनले फर्सी, खुर्सानी, काँक्रा, लौका, घिरौला, करेला, टमाटर, बन्दा र भान्टा उत्पादन गर्दै आएका छन् ।

‘खेतभरि काँक्रा छन् बजार लैजाऔं भने लकडाउनले गर्दा जान पाएको छैन । अलिअलि घरमै किन्न आउने ग्राहकलाई बेचेर चित्त बुझाउनुपरेको छ,’ सापकोटाले भने । पहिला नेपालगन्जको रानीतलाउ तरकारी बजारमा बेच्न ल्याउने गरेका उनले तरकारी बजार नजिकैको टोलमा कोरना संक्रमित पुष्टि भएपछि तरकारी बजार बन्द हुँदा आफूहरूमाथि मार परेको बताए ।

धानखेतीमा फौजीकीराको प्रकोप बेहोरेका बाँकेका किसान वसन्ते मकैमा पनि सोही समस्या बेहोर्न बाध्य छन् । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसानले लागाएको वसन्ते मकैमा लागेको फौजीकीराले सय बढी बिघाको वसन्ते मकै नष्ट पारेको छ । हिरमिनियाँका किसान जयपाल मौर्यले चार बिघा जमिनमा लगाएको वसन्ते मकै अमेरिकन फौजीकीराले सखाप पारेको छ । अहिले झन् कोरोना भाइरसको संक्रमणबाट जोगिन देश लकडाउन भएपछि पाक्ने बेलाको मकैले बजार नपाउने चिन्ताभन्दा पनि मकैको बोटमा लागेको फौजीकीराले बारी नै सखाप पार्दा लागत नै नउठ्ने चिन्ताले उनलाई सताएको छ ।

‘पाकेर बजारमा बेच्ने बेलाको मकैको बोटमा लागेको फौजीकीराको कारण फाइदा कमाउनेभन्दा पनि लगानी पो सुरक्षित हुने हो कि होइन भन्ने चिन्ताले सताएको छ,’ कृषक मौर्यले भने, ‘कोसा लाग्नेबेला फौजीकीराले बुटाको गुबो खाएर बोट नै मार्ने थालेकाले मेहनत नै खेर जाने भयो ।’ हिरमिनियाकै श्यामलाल मौर्यले लकडाउनका कारण पाक्ने बेलको मकै कतै धान चउर गर्ने बेलाको मकैको बोटमा प्रकोपका रूपमा फौजीकीरा फैलिएपछि फौजीकीराको प्रकोपबाट जोगिने उपाय’bout कृषि विज्ञलाई जानकारी गराउन नपाएको गुनासो गरे । उनले भने, ‘कृषि कार्यालयसम्म जाऔं भने पनि लकडाउनको कारणले हिँडडुल गर्न पाइँदैन । नजाऔं भने पनि वर्षभरिको कमाइ आँखैअगाडि नष्ट भएको छ । के गरांै के नगरांै मनमा शान्ति छैन ।’

धान खेतमा पनि हिरमिनियाँलगायत बाँके बर्दियामा अमेरिकन फौजीकीराको प्रकोप फैलिएको थियो । सोही समस्या अहिले वसन्ते मकैमा पनि फैलिएपछि किसान समस्यामा परेका हुन् । माथि उल्लेख भएका तरकारी किसान सापकोटा र वसन्ते मकै खेती गरेका मौर्य बाँकेका किसानका प्रतिनिधि पात्र हुन । उनीहरूले भोगेको समस्या सबै किसानको समस्या भएको महसुस गरी प्रदेश ५ सरकारको सहयोगमा लकडाउको बेलामा किसानको उत्पादन बजारसम्म पु¥याउन तथा उनीहरूको समस्यामा सहजीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनको अवधारणा ल्याइएको कृषि ज्ञानकेन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।

कृषि एम्बुलेन्सले किसानको उत्पादनलाई बजारीकरण गर्ने र उनीहरूको आवश्यकता पूर्ति गर्ने गरी सञ्चालनमा ल्याइएको बताए । उनले कृषि एम्बुलेन्सको माध्यमबाट किसानको उत्पादन निःशुल्क ढुवानी गर्ने र उनीहरूलाई आवश्यक पर्ने बीउ, मल र अन्य सामग्री उपलब्ध गराउन सहजीकरण गर्ने कार्यमा लगाइएको जानकारी दिए ।

लकडाउनको कारण डर र त्रासकै बीचमा हिउँदेबाली भिœयाएका किसानका लागि अबका केही दिनमा बर्खेबाली लगाउने समय सुरु हुँदै छ तर किसानलाई बर्खे खेतीका लागि आवश्यक पर्ने मल बीउ जोहो गर्न लकडाउनले असहजता बनाएको छ । त्यसलाई सहज बनाउन कृषि एम्बुलेन्सले सहजबनाउने उनको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 632 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जहाँ स्वतन्त्रले जिते