काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेले श्रमबजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यावहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिएका छन्।
स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को ११४औँ सत्रलाई नेपालको रोजगारदाता परिषद्को तर्फबाट सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले यस्तो धारणा राखेका हुन्।
पाण्डेले नेपाल हाल महत्त्वपूर्ण आर्थिक संक्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गर्दै सरकारले सुशासन, लगानी प्रवर्द्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए पनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागतजस्ता चुनौतीहरू कायमै रहेको बताए।
उनले नेपालको युवा जनशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको विषयलाई मुख्य चिन्ताको रूपमा प्रस्तुत गरे। लगानीमैत्री नीति, सिप विकास र शिक्षालाई श्रम बजारको वास्तविक मागसँग जोडेर स्वदेशमै मर्यादित एवं उत्पादकमूलक रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्नेमा उनको जोड थियो।
परिवर्तित विश्व परिवेश र डिजिटल अर्थतन्त्रको चर्चा गर्दै उपाध्यक्ष पाण्डेले नेपालमा पनि अनलाइन व्यवसाय, राइडसेयरिङ र डेलिभरी प्लाटफर्मजस्ता डिजिटल सेवाहरूमा युवाहरूको संलग्नता तीव्र रूपमा बढिरहेको बताए। यसले उद्यमशीलताका नयाँ अवसरहरू ल्याए पनि श्रम मापदण्ड र सामाजिक सुरक्षाका विषयहरूमा नयाँ बहस सिर्जना गरेको उनको भनाइ थियो।
नेपालजस्ता विकासशील देशहरूलाई कठोर विश्वव्यापी मापदण्ड थोपर्नुको सट्टा आफ्नो राष्ट्रिय यथार्थ, संस्थागत क्षमता र आर्थिक अवस्थाअनुरूप श्रम सुधार एवं कानुनी व्यवस्थाहरू लागू गर्न आवश्यक लचकता दिनुपर्ने उनले प्रस्ट पारे।
सम्बन्धित समाचार
किसानलाई रु १२ करोड भुक्तानी
आर्थिक सर्वेक्षण २०८२/८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत
मानव अधिकार उल्लंघनकर्ता ओली, लेखक र गुरुङलाई कानून बनाएर कारबाही गर्न सिफारिस
निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन
एनसेललाई आईएसओ ९००१ र १४००१ मान्यता
जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन
ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन
कानुनी रूपमा नाम परिवर्तन गरे अभिनेता निकोलसले






