काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यक्ष, वरिष्ठ नेतासहित १५८ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गराउने कसरत थालेको छ । आइतबारबाट चितवनमा सुरु भएको महाधिवेशनमा आज (सोमवार) बन्द सत्रसँगै निर्वाचन प्रक्रिया समानान्तर रूपमा अघि बढाइदैछ ।
बन्दसत्रमा पार्टीको विधान, भावी कार्यनीति र विगतको समीक्षा हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । उनका अनुसार निर्वाचन समितिले निर्वाचन कार्यक्रमसमेत यो अवधिमा समानान्तर अघि बढाउने छ ।
निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै अघि बढाइरहँदा पार्टीका नेताहरू भने सर्वसम्मत नेतृत्व चयनको गृहकार्यमा छन् । सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा वालेन्द्र शाहलाई नै निरन्तरता दिने सहमति भइसकेको अवस्थामा त्यसभन्दा तलका पदमा प्रतिस्पर्धा रोक्ने शीर्ष नेताहरूको रणनीति छ ।
रास्वपाका एक पदाधिकारीका अनुसार उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सह प्रवक्ता, कोषाध्यक्षसहितका पदाधिकारीमा सर्वसम्मत गराउने गृहकार्य जारी छ । २ जना उपसभापतिबाहेक अधिकांश पदाधिकारी दोहोरिने सम्भावना रहेको ती नेताको भनाइ छ ।
पदाधिकारी सर्वसम्मत भए केन्द्रीय सदस्यमा पनि चुनाव नहुने नेताहरूको दाबी छ । तर नेताहरूले भनेजस्तो सर्वसम्मत चयनका लागि सजिलो भने छैन । हालका अधिकांश केन्द्रीय सदस्य पदाधिकारीका आकांक्षी छन् भने नवप्रवेशीको ठुलो समूह केन्द्रीय सदस्यको आकांक्षी छन् ।
महाविधेवशन उद्घाटनका क्रममा सभापति र वरिष्ठ नेता दुवैले एक स्वरमा पार्टीभित्र गुट निषेध गरिएको अभिव्यक्ति दिएका कारण उद्घाटनको समय सकिँदासम्म पदाधिकारीका लागि औपचारिक रूपमा कसैले आकांक्षा राखेका छैनन् । तर महाधिवेशन प्रतिनिधि बसेका होटेलमा पुगेर मत माग्ने क्रम भने जारी छ ।
२०७९ असार १७ गते रास्वपा निर्वाचन आयोगमा दर्ता भएको थियो । तर, ४ वर्ष नपुग्दै गत २१ फागुन २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा १८२ सिट सहित संसद्को पहिलो शक्ति बनेको छ ।
रास्वपाको विधान अनुसार १९ पदाधिकारी सहित १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । जसमा ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । ७ प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य हुने छन् । केन्द्रीय समितिको निर्वाचन पछि ३३ सदस्यीय सचिवालय गठन गरिनेछ ।
सभापति १, वरिष्ठ नेता १, १ जना महिलासहित ३ उपसभापति, दुई महामन्त्री, १ महिलासहित ५ सहमहामन्त्री, कोषाध्यक्ष १, सह कोषाध्यक्ष २, प्रवक्ता १, सह प्रवक्ता ३ जना रहने व्यवस्था गरिएको छ ।
बग्रेल्ती आकांक्षी
विधान अनुसार सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह (वालेन) सर्वसम्मत हुनेछन् । तर अन्य पदमा आकांक्षी धेरै छन् । पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि नेताहरुकाबीचमा आन्तरिक प्रतिस्पर्धा र दाबी सुरु भएको छ ।
रास्वपाले चुनावी प्यानल बनाएर प्रतिस्पर्धा गर्न पूर्णरुपमा रोक लगाएको छ । प्यानल बनाएर प्रतिस्पर्धा गर्नेको उम्मेदवारी निष्कृष्य बनाउने कडा निर्देशन दिइएको छ ।
३ उपसभापतिका लागि वर्तमान उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निरन्तरता स्वाभाविक मानिएको छ । महामन्त्री कबिन्द्र बुर्लाकोटीसहित मन्त्रीद्धय सोविता गौतम, प्रतिभा रावल, कोषाध्यक्ष लीमा अधिकारी, समीक्षा बाँस्कोटा, गणेश पराजुलीसहितले दाबी गरेका छन् ।
दुई जना महामन्त्री पदका लागि पनि दाबेदारहरू अत्यधिक छन् । उपाध्यक्ष हुन नसकेको अवस्थामा बुर्लाकोटी पुन महामन्त्री दोहोरिने सम्भावना छ । यस्तै अर्का महामन्त्री भूपदेव शाह पनि दोहोरिने सम्भावना छ ।
उपसभापतिमा दाबी गर्दै आएकी सोवितासहित प्रवक्ता मनिष झा, दिपक बोहोरा, सहमहामन्त्री विपिन आचार्य सहितका नेताहरू प्रमुख दाबेदारका रूपमा देखिएका छन् । यसै गरी परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल लगायतका नेताहरू महामन्त्रीका आकांक्षी छन् ।
५ सहमहामन्त्रीका लागि अहिलेका सचिवालयमा रहेका नेताहरू दाबेदार छन् । उपाध्यक्ष, महामन्त्री हुन नसकेका नेताहरू नै सहमहामन्त्री हुने चर्चा छ । प्रवक्ता मनिष झा, कोषाध्यक्ष लीमा अधिकारी, सह प्रवक्तासमेत रहेकी मन्त्री प्रतिभा रावल सहितका नेताहरूको सम्भावना बढी छ ।
प्रविधिको प्रयोग, सभापतिका लागि ५१ हजार
केन्द्रीय निर्वाचन आयोगले डिजिटल प्रविधि (इभीएम) मार्फत मतदान गराउने सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । आयोगका अनुसार मनोनयन दर्ताका लागि सभापति पदका लागि ५१ हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ । देशभरबाट चुनिएर आएका करिब ४ हजार २ सय ११ जना प्रतिनिधि महाधिवेशनमा सहभागी छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ता फारम वितरण, मनोनयन दर्ता, प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारहरूमाथिको दाबी, विरोध गर्ने, छानबिन लगायतका कार्यक्रम सम्पन्न गर्दै सोमबार राती ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । मंगलबार बिहान ८ः३० बजेदेखि मतदान सुरु गर्दै मतदान सम्पन्न गरेर मत परिणाम घोषणा गरिने निर्वाचन कार्यक्रम छ ।
सम्बन्धित समाचार
रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
ओली, लेखक र गुरुङलाई कारबाही गर्ने कानुनको खोजीमा सरकार
आफ्नै दम्भले खस्कँदै कांग्रेस–एमाले
आजको मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय
रास्वपा महाधिवेशन : नीति र नेतृत्व टुंग्याउने अन्तिम तयारी
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता बालेनले उद्घाटन गर्ने
राष्ट्रियतामा शंका नगर्न प्रधानमन्त्री बालेनको आग्रह






