काठमाडौँ । निर्वाचन आयोगले नेपाली काँग्रेसको तर्फबाट निर्वाचित तीन जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै जुम्ला, नवलपरासी र रुपन्देहीका तीन फरक–फरक तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी दिएको हो ।
पद रिक्त हुनेहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकाल रहेका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार भई विजयी भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि आयोगले उनीहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको निर्णय गरेको हो ।
नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले ती जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी प्रमाणसहित पद रिक्त गराउन आयोगलाई जानकारी गराएको थियो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ मा भएको व्यवस्था अनुसार कुनै पनि निर्वाचित प्रतिनिधिले दल त्याग गरेमा उसको पद स्वतः रिक्त हुने कानूनी प्रावधान छ ।
सोही कानूनी व्यवस्था र दलको केन्द्रीय समितिको निर्णयका आधारमा निर्वाचन आयोगको असार ८ गतेको बैठकले निजहरूका पदहरू रिक्त भएको निर्णय गरेको हो ।

सम्बन्धित समाचार
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
आफ्नै दम्भले खस्कँदै कांग्रेस–एमाले
अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
मध्यरातमा प्रहरीले गर्यो कोशी प्रदेशका मन्त्रीको घर खानतलासी
नगरपालिका बढाउँदै स्थानीय तह घटाउने तयारी
रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : बालेन्द्र शाह
रास्वपा महाधिवेशन थप एक दिन लम्बिने







