हवाई इन्धनको मूल्य घटेसँगै जहाज भाडा १ हजार ७ सय ६५ सम्म घट्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएसँगै आन्तरिक उडानको इन्धन सरचार्जमा उल्लेख्य कटौती भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुधबारदेखि लागू हुने गरी नयाँ इन्धन सरचार्ज दर निर्धारण गरी सबै वायुसेवा कम्पनीलाई कार्यान्वयन गर्न निर्देशन दिएको छ । यसबाट यात्रुले काठमाडौं–धनगढी जस्ता लामो दूरीका उडानमा अधिकतम १ हजार ७६५ रुपैयाँसम्म बचत गर्न सक्नेछन् ।

सार्वजनिक यातायातमा पनि समायोजनको माग

विशेषगरी हवाई इन्धनको मूल्यमा भएको भारी गिरावटका कारण आन्तरिक हवाई भाडा कटौती भएको छ भने सार्वजनिक यातायाततर्फ पनि भाडा घटाउनुपर्ने दबाब सरकारमाथि परेको छ ।

हवाई इन्धनको मूल्य र नयाँ भाडादर नेपाल आयल निगमको मंगलबारको निर्णयअनुसार आन्तरिक हवाई इन्धनको साबिकको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट ४० रुपैयाँ अर्थात् १४ दशमलव ८७ प्रतिशतले घटेर २२९ रुपैयाँ कायम भएको छ । इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नयाँ ºयुल सरचार्ज (इन्धन अधिशुल्क) निर्धारण गरी बुधबारदेखि नै लागू हुने गरी वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो ।

प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेशकुमार महतका अनुसार संशोधित यो दर अनिवार्यरूपमा कार्यान्वयन गर्नुपर्नेछ र यसको उल्लघंन गर्ने कम्पनीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

नयाँ दरअनुसार काठमाडौंबाट हुने उडानहरूमा सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा १ हजार ७६५ रुपैयाँले घटेको छ । यसअघि धनगढीको हवाइ इन्धन अधिशुल्क ११ हजार ८८५ रहेकोमा अब १० हजार १२० रुपैयाँ कायम भएको छ । त्यस्तै काठमाडौं–सुर्खेतको भाडादरमा १ हजार ३८० रुपैयाँले घटेर ७ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

माउन्टेन ºलाइटमा पनि १ हजार ३७५ रुपैयाँले घटेर ७ हजार ८६० रुपैयाँ कायम भएको छ ।

काठमाडौैं–नेपालगन्जको भाडा १ हजार ३०५ रुपैयाँले घटेको छ । त्यस्तै काठमाडौं–भद्रपुरको भाडा १ हजार २०५ रुपैयाँले घटेको छ । काठमाडौं–विराटनगरमा ९६० रुपैयाँले घटेको छ । यसैगरी काठमाडौं–पोखरा रुटमा ६३५ रुपैयाँ कटौती गरिएको छ । काठमाडौं–सिमरामा भने सबैभन्दा कम ३६० रुपैयाँले घटेको छ ।

दुर्गम क्षेत्रतर्फ पनि भाडा उल्लेख्यरूपमा घटाइएको छ । प्राधिकरणको तथ्यांकअनुसार काठमाडौं–जुम्ला उडानमा १ हजार २६० रुपैयाँ र काठमाडौं–लुक्ला उडानमा ५४५ रुपैयाँ इन्धन शुल्क घटेको छ ।

हवाई भाडा नियमनको कानुनी आधार हवाई भाडाको यो समायोजन ‘आन्तरिक हवाई भाडा नियमन निर्देशिका, २०७३’ बमोजिम गरिएको नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ । यस निर्देशिकाको दफा ४ (२) मा हवाई इन्धनको मूल्यमा फेरबदल हुँदा नेपाल सरकारबाट निर्धारित सूत्रअनुसार वायुसेवा कम्पनीले इन्धन अधिशुल्क निर्धारण गरी लागू गर्न सक्ने व्यवस्था छ ।

निर्देशिकाले ‘कुल हवाई भाडा’ लाई हवाई भाडा, इन्धन अधिशुल्क र यात्रु सेवा शुल्कको योगफलका रूपमा परिभाषित गरेको छ । वायुसेवा कम्पनीहरूले सरकारले तोकेको न्यूनतम र अधिकतम सीमाभित्र रहेर मात्र भाडा निर्धारण गर्नुपर्ने बाध्यता छ ।

हवाई कम्पनीले टिकटको भाडा एउटै सूत्रबाट तय गर्दैन । भाडा निर्धारणमा आधारभूत भाडा, हवाई इन्धन अधिशुल्क, विमानस्थल सेवा शुल्क, कर वा अन्य लागू कर) लगायतका शीर्षक जोडेर अन्तिम टिकट मूल्य बनाइन्छ । नेपालमा विशेष गरी आन्तरिक उडानका लागि इन्धन अधिशुल्कको गणना र समायोजन नियामक निकायले तोकेको सूत्रअनुसार गरिन्छ ।

यसको आधारमा एयरलाइन्सले आफैं निर्धारण गर्ने भाडा निर्धारण गरिन्छ । माग, सिजन, प्रतिस्पर्धा, सिटको उपलब्धता, उडान समय र अग्रिम बुकिङका आधारमा फरक फरक हुन सक्छ ।

हवाई इन्धन अधिशुल्क भनेको इन्धनको मूल्यमा आएको परिवर्तनको प्रभाव यात्रुबाट आंशिक रूपमा असुल गर्ने अतिरिक्त शुल्क हो ।

नेपाल आयल निगमले जेट इन्धनको मूल्य घटाएपछि नियामकले नयाँ गणना गरेर इन्धन अधिशुल्क पनि घटाउँछ । जसले गर्दा यात्रुले तिर्नुपर्ने टिकट मूल्य पनि केही घट्न जान्छ ।

यदि कुनै कम्पनी वा ट्राभल एजेन्सीले तोकिएको भन्दा बढी भाडा असुल गरेमा उनीहरूको सम्झौता रद्द गर्ने र उडान रोक्का गर्नेसम्मको कारबाही हुन सक्ने प्रावधान निर्देशिकाको दफा ५ र ११ मा उल्लेख छ ।

सार्वजनिक यातायातमा पनि भाडा घटाउनुपर्ने माग
सार्वजनिक यातायातमा भाडा समायोजनको माग हवाई भाडा घटेसँगै सडक यातायाततर्फ पनि भाडा घटाउनुपर्ने आवाज चर्को रूपमा उठेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै ‘स्वचालित प्रणाली’ अनुसार सार्वजनिक सवारीसाधनको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेका छन् । उनले इन्धनको मूल्य बढ्दा तत्काल भाडा बढ्ने तर घट्दा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवैमा अन्योल सिर्जना गर्ने बताए ।

वैज्ञानिक भाडादरको बहस यातायात व्यवसायीहरूले भाडा समायोजन गर्दा इन्धनलाई मात्र आधार मान्न नहुने तर्कसमेत अघि सारेका छन् । अध्यक्ष सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा ३५ प्रतिशत इन्धन र बाँकी ६५ प्रतिशत अन्य सूचकलाई आधार मान्नुपर्छ । उनले भने, ‘सवारी सञ्चालन खर्च र मर्मतसम्भार, बिमा र श्रमिकको पारिश्रमिक अनि अतिरिक्त पार्टपुर्जा मूल्य तथा बैंकिङ ब्याजदर तथा समग्र आर्थिक सूचकलाई पनि आधार बनाएर भाडा समायोजन गर्नुपर्छ ।’

हाल डिजेलको मूल्य १८ प्रतिशतले घटेको सन्दर्भमा सोही अनुपातमा वा वैज्ञानिक आधारमा भाडा घटाउनुपर्ने व्यवसायीको माग छ ।

नेपाल आयल निगमको मंगलबारको निर्णयअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट घटेर २२९ रुपैयाँ कायम भएको थियो । यो १४ दशमलव ८७ प्रतिशतको कमी हो ।

दुर्गम क्षेत्रमा पनि राहत
रिमोट (दुर्गम) सेक्टरमा इन्धन सरचार्ज प्रतिसिट प्रतिमिनेट ८७ रुपैयाँ २ पैसा कायम गरिएको छ । विभिन्न छोटा टोल विमानस्थलहरूका उडानमा पनि सरचार्ज घटेको छ । विराटनगर–भोजपुर रुटमा ३ सय ३५ रुपैयाँ घटेर १ हजार ९१० रुपैयाँ कायम भएको छ । यस्तै काठमाडौं–जुम्ला १ हजार २६० रुपैयाँ घटेर ७ हजार २२० रुपैयाँ कायम गरिएको छ । काठमाडौं–लुक्ला रुटमा ५४५ रुपैयाँ घटेर ३ हजार १३० रुपैयाँ कायम गरिएको छ ।

नेपाल वायुसेवा निगम, बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर, समिट एयर, तारा एयर, सीता एयरलगायत सबै कम्पनीलाई क्यानले पत्र पठाएको छ । अब कम्पनीहरूले आºनो वेबसाइट, टिकट काउन्टर र एजेन्टमार्फत नयाँ दर लागू गर्नुपर्नेछ ।

तोकिएको भन्दा बढी भाडा असुल गर्ने वायुसेवा कम्पनी र टिकट बिक्रेताका लागि ‘आन्तरिक हवाई भाडा नियमन निर्देशिका, २०७३’ मा स्पष्ट कारबाहीको व्यवस्था गरिएको छ ।

कुनै वायुसेवा कम्पनीले निर्देशिकाको व्यवस्था उल्लंघन गरी बढी भाडा लिएमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (४) बमोजिम सजाय गरिने प्रावधान छ ।

यदि कुनै वायुसेवा कम्पनीले पटक–पटक यस्तो नियमको उल्लंघन गरेको पाइएमा प्राधिकरणका महानिर्देशकले सो कम्पनीको उडान रोक्का गर्नेसम्मको कडा कारबाही गर्न सक्ने अधिकार छ ।

यदि कुनै ट्राभल एजेन्सी वा टिकट बिक्रेताले तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा सम्बन्धित वायुसेवा कम्पनीले त्यस्तो एजेन्सीसँगको टिकट बिक्रीको सम्झौता रद्द गरी प्रचलित कानुनअनुसार थप कारबाही अगाडि बढाउनुपर्नेछ ।

हालै हवाई इन्धनको मूल्य घटेपछि नेपाल नागरिक उड्डन प्राधिकरणले नयाँ इन्धन सरचार्ज अनिवार्यरूपमा कार्यान्वयन गर्न निर्देशन दिँदै सो पालना नगर्ने कम्पनीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ । वायुसेवा कम्पनीहरूले आºनो उडान तालिका स्वीकृतिका लागि पेस गर्दा नै भाडादर अनिवार्यरूपमा पेस गर्नुपर्ने र तोकिएको सीमाभित्र रहेर मात्र भाडा उठाउनुपर्ने कानुनी व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध (सूचनासहित)