नयाँदिल्ली । भारतले डेंगु नियन्त्रणका लागि पहिलोपटक खोप प्रयोगको अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेंगा’ खोपलाई चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ । जलवायु परिवर्तन, तीव्र सहरीकरण र बढ्दो तापक्रमका कारण डेंगुको जोखिम बढिरहेका बेला यो निर्णयलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) ले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृति प्रदान गरेको हो । मन्त्रालयका अनुसार सो खोप चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेंगु रोगको रोकथामका लागि प्रयोग गरिनेछ ।
‘क्युडेंगा’ खोप दुई मात्रा (डोज) मा दिइनेछ । यसमा दोस्रो मात्रा पहिलो खोप लगाएको तीन महिनापछि लगाइने व्यवस्था छ ।
टाकेडाले भारतमा खोपको उत्पादन र आपूर्ति विस्तार गर्न भारतीय कम्पनी बायोलोजिकल ईसँग सहकार्य गरिरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार सो खोपले डेंगु भाइरसका सबै चार प्रकार (सेरोटाइप) विरुद्ध सुरक्षा प्रदान गर्छ । यो खोप युरोपेली संघ (इयु), बेलायत, स्विट्जरल्यान्ड, इन्डोनेसियासहित ४२ देशमा प्रयोगका लागि स्वीकृत भइसकेको छ । साथै यसले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पूर्वयोग्यता (प्रि–क्वालिफिकेसन) पनि प्राप्त गरेको छ ।
हालसम्म विश्वभर दुई करोड ४० लाखभन्दा बढी मात्रा वितरण भइसकेको र यसको प्रयोगका क्रममा कुनै गम्भीर सुरक्षा समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डब्लुएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगुको जोखिममा छ । प्रत्येक वर्ष विश्वभर अनुमानित १० करोडदेखि ४० करोडसम्म मानिस डेंगुबाट संक्रमित हुने गरेका छन् । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, मौसमको बदलिँदो स्वरूप र तीव्र सहरीकरणका कारण डेंगुको संक्रमण उल्लेखनीय रूपमा बढेको छ ।
भारतको पछिल्लो आधिकारिक तथ्यांकअनुसार सन् २०२१ यता देशमा १० लाखभन्दा बढी डेंगु संक्रमण पुष्टि भएका छन् भने कम्तीमा एक हजार ५०० जनाको मृत्यु भएको छ ।
यसैबीच भारतमै विकास भइरहेको पानासिया बायोटेकको ‘डेन्गीअल’ नामक डेंगु खोप अन्तिम चरणको क्लिनिकल परीक्षणमा पुगेको छ । स्वीकृति प्राप्त गरेपछि यो विश्वकै पहिलो एकल मात्रा (सिंगल डोज) डेंगु खोपमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण
अमेरिकी राष्ट्रपति ट्रम्प हत्या योजनावारे इजरायलसँग नयाँ सूचना
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले फहराए ‘फकल्यान्ड अर्जेन्टिनाकै हो’ लेखिएको झण्डा
आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त
अत्यावश्यक औषधि उत्पादनको समझदारी






