काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा मृत्यु भएका दुई युवकका परिवार र नेपाल सरकारबीच बिहीबार राति ७ बुँदे सहमति भएको छ ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको सो सहमतिमा पीडित पक्षले राखेका विभिन्न मागलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।
गत १० साउनमा भएको घटनामा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो ।
सम्झौतापत्रमा पीडित परिवारको तर्फबाट ओमप्रकाश मेहताका अभिभावक र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले र सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।
मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई नेपाल सरकारले शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम तत्काल कानुनी कारबाही अगाडि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने दुई पक्षबीच सहमति भएको छ ।
त्यस्तै घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरूलाई यथाशीघ्र कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।
मृतकद्वयको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने भएको छ ।

सम्बन्धित समाचार
पानीधारा र चुमखोलामा पहिरो, आवागमन ठप्प
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
खैरो हेरोइनसहित चार जना पक्राउ
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए पदबाट राजीनामा
सुनसरीमा हटाइयो कर्फ्यू
अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा






