मध्यपूर्व तनावले युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि

पेरिस । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा मूल्यमा आएको वृद्धिको प्रभावले जुलाई महिनामा युरो क्षेत्रको मुद्रास्फीति पुनः बढेको छ । विश्लेषकहरूको अनुमानअनुरूप जारी तथ्यांकअनुसार उपभोक्ता मूल्य वृद्धिदर जुनको २.८ प्रतिशतबाट जुलाईमा २.९ प्रतिशत पुगेको छ ।

युरोपेली संघ (इयु) को तथ्यांक निकाय युरोस्ट्याटले शुक्रबार सार्वजनिक गरेको विवरणमा मुद्रास्फीति अझै पनि युरोपेली केन्द्रीय बैंक (इसीबी) को दुई प्रतिशत लक्ष्यभन्दा उल्लेखनीय रूपमा माथि रहेको छ ।

इसीबीकी अध्यक्ष क्रिस्टिन लागार्डले गत साता अमेरिका–इरानबीचको द्वन्द्वका कारण ऊर्जा बजारमा थप दबाब पर्न सक्ने र त्यसको असर मुद्रास्फीतिमा अझ तीव्र रूपमा देखिन सक्ने चेतावनी दिएकी थिइन् ।

इसीबीले २३ जुलाईमा आफ्नो प्रमुख निक्षेप ब्याजदर यथावत् राखे पनि मध्यपूर्वको तनावका कारण मूल्यवृद्धि थप चर्किन सक्ने आकलन गर्दै सेप्टेम्बरमा ब्याजदर बढाउने सम्भावना खुला राखेको छ ।

यसै महिनामा अमेरिका र इरानबीच नयाँ सैन्य आक्रमणहरू भएका भए पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले दुवै पक्षबीच वार्ता जारी रहेको जनाएको छ ।

ऊर्जा र खाद्यजस्ता अस्थिर वस्तुहरूलाई बाहिर राखेर गणना गरिने ‘कोर मुद्रास्फीति’ पनि जुनको २.४ प्रतिशतबाट बढेर जुलाईमा २.५ प्रतिशत पुगेको युरोस्ट्याटले जनाएको छ ।

तथ्यांकअनुसार जुलाईमा ऊर्जा मूल्यवृद्धिदर ८.५ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको छ । त्यसविपरीत खाद्य तथा पेय पदार्थको मुद्रास्फीति भने जुनको १.५ प्रतिशतबाट घटेर जुलाईमा १.२ प्रतिशतमा झरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

पासपोर्ट प्रकरणमा मुछिएका थापा साधारण तारेखमा रिहा