ज्यान जोखिममा परेका दुई महिलालाई समयमै हवाई उद्धार गरी स्वास्थ्य सेवा उपलब्ध

काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुंगानाले आइतबार शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तस्राव हुँदा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । चिकित्सकको सिफारिसका आधारमा उनलाई तत्काल हवाई उद्धार गरी परोपकार स्त्री तथा प्रसूति गृह थापाथलीमा ल्याइएको छ, जहाँ विशेषज्ञ चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ ।

त्यसैगरी, जुम्लाको चन्दननाथ नगरपालिका निवासी २८ वर्षीया काशीकला धरलाको गर्भमै शिशुको मृत्यु भएपछि उनको स्वास्थ्य अवस्था ज्यान जोखिमपूर्ण बनेको थियो । चिकित्सकीय सिफारिसअनुसार उनलाई सोमबार तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार सुरु गरिएको छ ।

दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ । यस सेवाले आकस्मिक अवस्थामा जीवनरक्षक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुका साथै मातृ मृत्यु न्यूनीकरण, सुरक्षित मातृत्व प्रवर्धन तथा दुर्गम क्षेत्रका महिलाको जीवनरक्षामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाइएको छ ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका महिलालाई आवश्यक परेको अवस्थामा समयमै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यस्ता जीवनरक्षक सेवालाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

महोत्तरीमा स्कुल बस दुर्घटना हुँदा ६ जना घाइते