करदाता प्रोत्साहन उपहार कार्यक्रम : २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँको बम्पर पुरस्कार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ औपचारिक रूपमा सुरु गरेको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित विशेष कार्यक्रममा साउन महिनाको पहिलो १५ दिनका विजेताको घोषणा गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो ।

वस्तु तथा सेवा खरिद–विक्रीमा बिल बिजक लिने–दिने संस्कारलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई औपचारिकीकरण र पारदर्शी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) लाई दिगो राजस्व स्रोतका रूपमा विकास गर्ने लक्ष्यअनुसार कार्यक्रम लागू गरिएको हो ।

आन्तरिक राजस्व विभागका अनुसार २०८३ साउन १ देखि १५ गतेसम्मको अवधिका लागि १६ जना विजेता छनोट भएका छन् । यसमा प्रत्येक दिनका एक–एक जना गरी १५ दैनिक विजेता र एक जना बम्पर विजेता रहेका छन् । दैनिक विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ तथा बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार विजेताको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म ¥यान्डम स्याम्पलिङ’ प्रविधिमार्फत गरिएको हो । पूर्ण रूपमा कम्प्युटर प्रणालीबाट हुने छनोट प्रक्रियामा कुनै मानवीय हस्तक्षेप वा विभेद नहुने भएकाले प्रक्रिया निष्पक्ष रहेको उनले बताए ।

विभागका अनुसार साउन १ देखि १५ गतेसम्म उपभोक्ताले विभागको वेबसाइटमा ७ हजार ७७ वटा नगद कारोबार विवरण प्रविष्ट गरेका छन्, जसको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ । ती कारोबारमा ३ हजार ९ सय १५ विक्रेता आबद्ध छन् ।

यस्तै, सोही अवधिमा अनलाइन भुक्तानीमार्फत ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको विभागले जनाएको छ । अनलाइन भुक्तानीका कारोबार भने स्वतः प्रणालीमा समावेश हुने भएकाले छुट्टै विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था छैन ।

विभागले विजेताको कुपन नम्बर र संक्षिप्त विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने जनाएको छ । व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक नगरिनेछ । पुरस्कार विजेताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा गई पुरस्कार रकम दाबी गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसैबीच, पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर पुरस्कार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले जितेका छन् । सरकारले बिलिङ संस्कारलाई प्रवद्र्धन गर्दै कर प्रणालीप्रति उपभोक्ताको सहभागिता बढाउने उद्देश्यले यस्तो प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

अब अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने, ‘बर्थ टुरिज्म’ मा ट्रम्पको प्रतिबन्ध