स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले १ सय ७६ वटा पसल अनुगमन गरिएको जनाएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा स्याङ्जाका विभिन्न बजार क्षेत्रमा सञ्चालन गरिएका १ सय ७६ वटा व्यवसायको बजार अनुगमन गरिएको प्रशासनले जनाएको हो ।
संयुक्त बजार अनुगमन टोलीले वर्षभर गरेको अनुगमनका क्रममा उपभोक्ता हित विपरीत गतिविधि गर्ने व्यवसायीबाट ९० हजार रुपैयाँ जरिवाना असुल गर्नुका साथै म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीसमेत जफत गरेको प्रशासनले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार पुतली बजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका, अर्जुनचौपारी, आँधी खोला, फेदी खोला, कालीगण्डकी गाउँपालिकालगायतका स्थानीय तहमा किराना पसल, होटेल, रेस्टुरेन्ट, मेडिकल, हार्डवेयर, कस्मेटिक, खाजा घर, मासु पसल, पेट्रोल पम्प, ग्यास उद्योग तथा डेरीलगायत व्यवसायमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद नाघेका तथा बिक्रीका लागि अयोग्य सामग्री जफत गरिएको छ । प्रशासनले दिएको तथ्याङ्क अनुसार वर्षभरमा ५३ हजार १ सय २६ रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको छ ।
अनुगमनका क्रममा विभिन्न व्यवसायबाट ५ हजार, १० हजार, १५ हजार र ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको थियो । सबै गरी ९० हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्माले जानकारी दिए । यस क्रममा किराना, मेडिकल, होटेल–रेस्टुरेन्ट, मिठाई पसल, ग्यास उद्योग, पेट्रोल पम्प, मासु पसल, हार्डवेयर, डेरी, कस्मेटिक तथा अन्य व्यवसायमा उपभोक्ता संरक्षणसम्बन्धी मापदण्डको पालना भए–नभएको जाँच गरिएको थियो । पेट्रोलियम पदार्थको बिक्री–वितरणलाई व्यवस्थित बनाउन पेट्रोल पम्पहरूको स्थलगत अनुगमन तथा टेलिफोनमार्फत सचेत गरिएको अधिकृत शर्माले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अधिकांश व्यवसायीलाई पहिलो चरणमा सचेत गराइएको छ भने उपभोक्ताको स्वास्थ्य र हितमा प्रत्यक्ष असर पर्ने खालका कमजोरी भेटिएका व्यवसायलाई कानुनअनुसार कारबाही गरिएको हो । प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बजारलाई स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बनाउन नियमित अनुगमनलाई निरन्तरता दिइने बताए ।
उपभोक्तालाई कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने व्यवसायीलाई कानुनले तोके अनुसार कारबाही हुने चेतावनी प्रजिअको छ । उनले उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनको पूर्ण पालना गर्न व्यवसायीलाई आग्रह गर्दै म्याद गुज्रिएका, लेबल नभएका वा गुणस्तरहीन वस्तुको बिक्री–वितरण नगर्न निर्देशन समेत दिएका छन् ।
उपभोक्तालाई पनि खरिद गर्दा वस्तुको उत्पादन तथा उपभोग्य मिति, मूल्य सूची र गुणस्तर’bout सचेत हुन आग्रह गर्दै कुनै अनियमितता भेटिए तत्काल जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेका छन् ।
पछिल्लो समय जिल्लाका बजार क्षेत्रमा अनुगमनमा सक्रियता बढाए पनि उपभोक्ता ठगिने क्रम उत्तिकै बढेको छ । अनुगमनको दायरा बढाएर उपभोक्ता नठगिने क्रियाकलापमा प्रशासन लगायत स्थानीय सरकारहरू पनि सक्रिय रहनुपर्ने देखिन्छ ।
सम्बन्धित समाचार
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
‘कञ्चन पत्रकारिता पुरस्कार’ सारूमगर र जिटीलाई
पहिरोमा परी म्याग्दीमा वृद्धको मृत्यु, एकजनाको उद्धार
हिँड्दा हिँडदै अमेरिकी नागरिकको मृत्यु
पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका व्यक्तिको शव फेला
गण्डकीले पुनः पारित गर्यो गाँजा खेतीसम्बन्धी विधेयक
मर्दी पदयात्रामा गएका ३ युवक सम्पर्कविहीन






