काठमाडौं । आज बुधबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ । मुख्यमन्त्री शाहीले सदनमा सोमबार यससम्बन्धी पत्र दर्ता गराएका थिए ।
नेकपा (एमाले)को समर्थनमा शाही गत १२ साउनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
तर दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सदनबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिएका छन् ।
कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेशसभा सदस्य छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री भट्टले मंगलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गरिदिन आग्रह गरेकाले सोहीअनुसार आज दिउँसो १ बजे बैठक बस्न लागेको जानकारी दिए ।
सो बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान प्रक्रिया अघि बढ्नेछ ।
गत २९ साउनमा भट्ट मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेको समर्थनमा नियुक्त भएका उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
यहाँ दुई राज्यमन्त्री, सात मन्त्रीसहित १० जनाको मन्त्रिमण्डलमा हाल तीन मन्त्री र एक राज्यमन्त्री मात्र जिम्मेवारीमा छन् । मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।
प्रदेशसभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका २२, नेपाली कांग्रेसका १८, एमाले.का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदवारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो : धवलशमशेर
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्मा आउन रोक लगाइयोस्: एमाले सांसद पोखरेल
दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषद् बैठकका ५ निर्णय





