काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाका तत्कालीन कार्यवाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठ फिफा कंग्रेसमा जान नपाउनु नै नेपाली फुटबल इतिहासकै दुर्भाग्यपूर्ण घट्ना भएको बताएका छन् ।
‘एन्फाको कार्यवाहक अध्यक्ष फिफा कंग्रेसमा जान नपाउनु इतिहासकै दुर्भाग्य हो । श्रेष्ठको पाँचौं वार्षिक पुण्य तिथिमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले भने, ‘अहिलेसम्म त्यस्तो भएको छैन जस्तो लाग्छ । जुन किसिमको कार्यक्रम लिएर उहाँ फिफा कंग्रेस जाने योजना बनाउनुभएको थियो । त्यस्तो, अवस्थामा उहाँ जान पाउनुभएन ।
यो नेपाली फुटबलको निकै दुर्भाग्यपूर्ण घटना हो ।’ यस्तै, अध्यक्ष शेर्पाले स्वर्गीय श्रेष्ठकै सम्झनामा हरेक वर्ष आयोजना हँुदै आएको ललित मेमोरियल यू–१८ फुटबल प्रतियोगिता यो वर्ष अझै व्यवस्थित रूपमा आयोजना गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न नसकिएको र आगामी वर्ष कोरोना कहर कम भएपछि यस प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । यस्तै, एन्फा अध्यक्ष शेर्पाले एन्फा मुख्यालयमा रहेको श्रेष्ठको अर्धकदको प्रतिमा उनको कद सुहाउँदो नभएको र अर्को वर्ष उनको कद सुहाउदो धातुको प्रतिमा सार्वजनिक गरिने बताउने बताए । अध्यक्ष शेर्पाले एन्फाको बनेको भैतिक संरचना निर्माणको श्रेय श्रेष्ठलाई नै जाने र नेपाली क्लब फुटबलमा व्यवसायिकता भिœयाउने श्रेय श्रेष्ठलाई नै जाने बताए ।
एन्फाका सहमहासचिव तथा थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशीले नेपालमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने प्रस्तावसहित फिफा कंग्रेसमा जाने योजना आफूलाई सुनाएको तर कंग्रेसमा जान नपाउँदा केही दुखित भएको र त्यहाँ जान नपाउनु नै उनका लागि अभिशाप भएको बताएका छन् । ‘दशरथ रंगशाला भूकम्पले क्षति पुगेको अवस्था थियो । फिफा कंग्रेसमा जाने कुराले उहाँ एकदम उत्साही हुनुहुन्थ्यो ।
त्यस्तो परिस्थितिमा फिफा कंग्रेसमा नेपालमा एक अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने सहयोग माग्ने प्रस्ताव लिएर जाने योजनामा हुनुहुन्थ्यो । तर, विविध कारणवश जान पाउनुभएन । त्यस घटनाले उहाँलाई मानिसक रूपमा ठूलो असर गरेको थियो । सायद त्यो प्रस्ताव नै उहाँको लागि अभिशाप भयो ।’ जोशीले भने, ‘क्लब फुटबललाई व्यवसायिकतामा ल्याउने श्रेय पाएका श्रेष्ठको थ्री स्टार क्लबको आफ्नै भवन रहेको हेर्ने चाहना थियो । त्यो उहाँले पूरा गर्न पाउनुभएन । उनको सपनालाई हामीले पूरा गर्न लागेका छौं । क्लबको आफ्नै भवन केही दिनमा निर्माण भइसक्नेछ ।’
सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको स्वर्गीय श्रेष्ठको प्रतिमामा बिहीबार माल्यार्पण गरिनुका साथै एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । सभामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, एन्फाका पदाधिकारी र रुस्लान थ्री स्टार क्लबका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकहरूले स्वर्गीय श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका थिए । यस्तै, थ्री स्टार क्लबले पनि पाटन दरबार स्क्वायर परिसरमा आफ्ना पूर्वअध्यक्ष श्रेष्ठको श्रद्धाञ्जली सभा राखेको थियो । थ्री स्टार क्लबका अध्यक्षसमेत रहेका श्रेष्ठको २०७२ जेठमा नयाँ घरमा सरेकै दिन करेन्ट लागेर निधन भएको थियो ।






