काठमाडौं । सरकारले कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रका कर्मचारीहरूको सेवा सुविधामा सुधार गर्दै सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरूका लागि सङ्घीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको बताए ।
यसका साथै माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी सरह कायम गर्ने निर्णय भएको छ ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति प्रदान गरिएको छ । सरकारले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्रङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै, सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ लाई बैठकले स्वीकृत गरेको छ । कानुनी सुधारका सन्दर्भमा भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ र नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न सरकारले अनुमति दिएको छ । बैठकले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न विभिन्न निर्णयहरू समेत गरेको छ ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति दिइएको छ ।
त्यस्तै, भारतमा आयोजना हुने सीमा व्यवस्थापन सम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपको १४ औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रतिनिधि मण्डल पठाउने निर्णय भएको छ । एसियन डिजास्टर प्रिपेडनेस सेन्टरको शाखा कार्यालय नेपालमा स्थापना गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।
सम्बन्धित समाचार
सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने
कांग्रेस सभापति गगन र निर्वाचन आयोगलाई शशांकको पत्रः ‘पार्टीका गतिविधि रोक्नू, नयाँ निर्णय नगर्नू’
यस्तो छ एमाले र नेकपाको प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार
शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा
पूर्वसभापति देउवालाई कांग्रेस सभापति गगनको स्वागत
चमत्कारको सन्देशसहित चुनदेवीमा चहलपहल
सुदूरपश्चिम प्रदेशमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री नियुक्त
भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जासहित सम्मान प्रदान






