बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ ।
सदरमुकाम मार्तडीस्थित मालिका मन्दिर पूजाआजा गरी सरकारी टोली आज त्यसतर्फ लागेको हो । सुरक्षाकर्मीको सलामी, बाजागाजासहित, फूल मालामा सजिएका जमराको टोकरी शिरमा राखेर पञ्चकन्या र महिलाले सरकारी टोलीको बिदाइ गरेका हुन् ।
बडी मालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरासहितको एकीकृत रूपमा सरकारी टोली बडी मालिकातर्फ गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।
देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत सयौँको सङ्ख्यामा तीर्थयात्रा केही दिन पहिलादेखि नै बडी मालिका, बुढीनन्दा जान थाले पनि औपचारिक यात्रा आजबाट सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी निरौलाले प्रहरी प्रमुखको नेतृत्वमा नै टोली गएकाले बडी मालिकामा सुरक्षा व्यवस्था प्रभावकारी तुल्याइएको बताए। बुढीनन्दामा भने आइतबार नै जिल्लाको सरकारी टोली हिडिसकेको छ । बडी मालिका र बुढीनन्दा दुवै धार्मिक शक्तिपीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने मान्यता छ । जिल्लाको टोली बडी मालिका प्रस्थान गरेको अवसरमा आज नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।
टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडी मालिका मन्दिर पुग्ने गरेको नगरपालिका प्रमुख खड्काले जानकारी दिए । बडी मालिका, बुढीनन्दासहित जिल्लाका दर्जन बढी धार्मिक शक्तिपीठमा हरेक वर्ष मुख्य पूजा जनपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने परम्परा छ । आफ्नो मनोकाङ्क्षा पुरा हुने विश्वासका साथ धार्मिक शक्तिपीठमा भक्तजनले पूजापाठ गर्ने प्रचलन छ ।
जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल बुढीनन्दा करिब चार हजार ८८८ मिटर उचाइमा अवस्थित छ । यस्तै सत्य युगमा भगवान् शिवले सतीदेवीको शरीरलाई संसार भर घुमाउने क्रममा पर्वत शृङ्खलामा शरीरका अंग खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मिक विश्वासका आधारमा बडी मालिकामा पूजापाठ गर्ने गरिएको मान्यता रहेको बडी मालिकाका पुजारी नेत्र पाध्यायले बताए ।
बडी मालिका क्षेत्रमा २२ आकर्षक पाटन, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थल छन् । धार्मिक पूजाआरधानाका साथै सोही स्थानको अवलोकन गर्न तीर्थयात्री बडी मालिका आउने गरेको पाइन्छ ।
बडीमालिकाको दर्शनपछि मनोकाङ्क्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजन दर्शन गर्न आउने गरेको पुजारी नेत्रप्रसाद पाध्यायको भनाइ छ । बडी मालिकाले सबै तह र तप्काका व्यक्तिलाई आफ्नो मनोकाङ्क्षा पुरा गर्दिने जनविश्वास भएकाले श्रद्धालु भक्तजन यस मेलामा घुइँचो लाग्ने गरेको भनाइ रहेको छ ।
बडी मालिका पूजाका लागि डोटी, जुम्ला र कालिकोटसहित कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोलीसमेत यसअघि नै प्रस्थान गरिसकेको छ । यस्तै बडी मालिका भगवतीको पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि आइतबार पूजा सामग्रीसहित सरकारी टोली पठाएको छ ।
बडी मालिका र बुढीनन्दा दिदीबहिनी भएकाले मुख्य पूजा यहीँ भदौ ११ गते हुनेछ । भक्तजनको चाप बढ्न थालेपछि एकै दिन पूजा गर्न नसकिने भन्दै भदौ १ गतेबाट नै पूजा प्रारम्भ गरिएको नगरप्रमुख खड्काले जानकारी दिए । बडी मालिका माताको दर्शनका लागि दर्शनार्थीहरुको सङ्ख्या विगतका वर्षभन्दा यस वर्ष झन् बढ्ने अनुमान गरिएको छ । यस पटक बडी मालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमको ‘फोरजी’ टावर जडानसमेत भइरहेको छ । बडी मालिका मन्दिर चार हजार २०० मिटर उचाइमा छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई नेपालको ‘स्विट्जरल्यान्ड’ भनेर उल्लेख गरेपछि त्यस क्षेत्रले थप चर्चा पाएको स्थानीयको भनाइ छ ।
सम्बन्धित समाचार
माछापालनबाट मासिक २५ लाख आर्जन
सरकारी गाडी चोरेर बेच्ने थुनामा, किन्ने तारेखमा रिहा
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग
बडीमालिका पूजा आजदेखि प्रारम्भ
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
घारखोला विद्युतगृहको पहिरोमा बेपत्ता सुरक्षागार्डको शव भेटियो
पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान






