आज प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदका प्रश्नको जवाफ दिने, यी ११ सांसदले सोध्नेछन् प्रश्न


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने भएका छन् ।

प्रश्नोत्तरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समीक्षा बाँस्कोटा, अमरेशकुमार सिंह र कृष्णहरि बुढाथोकी, नेपाली कांग्रेसबाट वासना थापा र गीता गुरुङ, नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना, नेकपाबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीले प्रश्न गर्ने भएका हुन्

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सरकारका कामकारबाही, नीतिगत निर्णय तथा समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारी गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ । तर, यति लामो समय बितिसक्दा समेत प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ नदिएको भन्दै विपक्षी सांसदहरूले विरोध गर्दै आएका थिए । विपक्षी दलको निरन्तर अडानपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गर्दै बुधबारका लागि प्रश्नोत्तर कार्यक्रम राखेका हुन् ।

यस्तै आजको बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् ।

त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

epaper

ताजा समाचार

मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा