धनगढी । प्रेमीसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ ।
लम्कीचुहा नगरपालिका–४, कैलालीका ३३ वर्षीय दीपक सुनारको हत्या आरोपमा उनकी २८ वर्षीया श्रीमती यमुना सुनारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा यमुना र उनका प्रेमी लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकारले डेढ लाख रुपैयाँमा अन्य व्यक्तिलाई ‘सुपारी’ दिएर दीपकको हत्या गराएको खुलेको जनाएको छ ।
प्रहरीका अनुसार दीपक गत २२ साउन बिहान जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट बेपत्ता भएका थिए । श्रीमती यमुनाले श्रीमान् हराएको भन्दै प्रहरीमा जानकारी गराएकी थिइन् । त्यसपछि प्रहरीले बेपत्ता व्यक्तिको खोजीका क्रममा अनुसन्धान अघि बढाउँदा हत्या भएको तथ्य खुलेको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार यमुना र दुर्योधनले दीपकको हत्या गर्ने योजना बनाएका थिए । योजनाअनुसार २२ साउन राति यमुनाले दीपकलाई स्कुटीमा राखेर अमरावती जंगलमा पु¥याएको र त्यहाँ अन्य व्यक्तिको संलग्नतामा उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।
हत्यापछि शव मोटरसाइकलमा राखेर कर्णाली नदी किनारमा लगिएको र दुई टुक्रा पारेर नदीमा बगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न आरोपितहरूले प्रहरीसमक्ष दिएको बयानका आधारमा घटनाको विवरण खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले ९ भदौमा कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा यमुना सुनार, दुर्योधन सुवर्णकार, टीकापुर–३ का ३२ वर्षीय रामराजेश महतो, कञ्चनपुर बेलौरी–९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी–८ का ३२ वर्षीय बीमा राना छन् ।
प्रहरीका अनुसार यमुना र दुर्योधनले अन्य व्यक्तिलाई रकम दिने सहमतिमा दीपकको हत्या गराएको देखिएको छ । पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।
दीपक बेपत्ता भएपछि घटनाको दोस्रो दिन यमुनाले इलाका प्रहरी कार्यालय टीकापुरमा श्रीमान्को खोजी गरिदिन निवेदन दिएकी थिइन् । दीपकका आफन्तले समेत इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दिएका थिए ।
घटनाको प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट आठ दिनको अनुसन्धान अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टीकापुर र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोली खटिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको अभियोगमा ५ पक्राउ
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
पूर्वाधारमन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो
अख्तियारद्वारा कैलालीमा दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ
दुई लाख रुपैयाँ घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य समातिए
गरिमा चौधरी हत्या अभियुक्तको बयानका क्रममा भिडियो खिच्ने प्रहरी पक्राउ






