सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै

धनगढी । सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा शुक्रबार धुमधामका साथ मनाइँदै छ । गौरा पर्वअन्तर्गत शुक्रबारको दिनलाई ‘अठ्यावाली’ भनिन्छ । यस दिन गौरा घरमा भित्र्याइएको गौरालाई गौरा खलामा लगेर व्रतालु महिलाहरूले पूजाआजा गर्ने परम्परा छ ।

विरुडा पञ्चमीका दिन भिजाइएको पाँच प्रकारका गेडागुडी तथा अन्नबाट तयार पारिएको बिरुडाले गौरादेवीको पूजा गरिन्छ । व्रतालु महिलाहरूले गौरा–महेश्वरमा आधारित सगुन फाग गाउँदै गौरादेवीको पूजाआजा गर्ने गर्छन् । फागमार्फत गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत धार्मिक प्रसंग प्रस्तुत गर्ने परम्परा छ ।

पूजाआजा सम्पन्न भएपछि बिरुडालाई मुख्य प्रसादका रूपमा प्रयोग गर्दै व्रतालु महिलाहरूले आफ्ना श्रीमान्, छोराछोरी तथा आफन्तजनको चिरायु र दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्छन्। पुरुषहरूले भने ठाडो खेल, ढुस्को, धमारीलगायत ऐतिहासिक तथा धार्मिक संस्कृतिमा आधारित खेल खेल्ने गर्छन्। सामूहिक रूपमा देउडा खेल्ने चलनसमेत रहेको छ ।

गौरा पर्वमा महिलाहरूले अटल सौभाग्य, समृद्धि, सन्तान तथा परिवारमा सुख–शान्तिको कामना गर्दै व्रत बस्ने र पूजाआजा गर्ने धार्मिक मान्यता छ । सुदूरपश्चिमेलीका लागि गौरा दसैँभन्दा पनि बढी महत्त्वको पर्वका रूपमा लिइन्छ । त्यसैले रोजगारी तथा अध्ययनका लागि परदेशिएका परिवारका सदस्यहरू घर फर्किने र विवाहित चेलीहरू माइती आउने परम्परा छ ।

गौरा पर्वको सुरुवात पञ्चमी तिथिमा बिरुडा भिजाएर हुन्छ। मास, गहत, गुरुस, केराउ र गहुँलगायत पाँच प्रकारका गेडागुडी तथा अन्न मिसाएर बिरुडा भिजाउने गरिन्छ । षष्ठीका दिन भिजाइएको बिरुडा धोएर सफा गर्ने गरिन्छ। यस दिनलाई ‘नानी गौरा’ भन्ने चलन छ ।

सप्तमी तिथिमा गौरा भित्र्याइन्छ । स्थानीय भाषामा यसलाई ‘भितरीकी गौरा’ अर्थात् ‘ठुली गौरा’ भनिन्छ। व्रतालु महिलाहरूले बिहानै नुहाइधुवाइ गरी साँझपख गौरा घरमा भित्र्याउने गर्छन् । त्यसपछि धार्मिक विधिअनुसार गौरा पर्वका अन्य संस्कार सम्पन्न गरिन्छन् ।

गौरा पर्वको अवसरमा सरकारले शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमका केही स्थानीय तहले भने ‘ठुली गौरा’को अवसरमा बिहीबार नै स्थानीय बिदा दिएका थिए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा धुमधामका साथ मनाइने गौरा पर्व बसाइँसराइसँगै तराईका जिल्लामा समेत विस्तार भएको छ । अहिले तराईमा समेत गौरा घर निर्माण गरी सामूहिक रूपमा पर्व मनाउने क्रम बढेको छ । यद्यपि, धेरै सुदूरपश्चिमेलीहरू गौरा मनाउन अझै पनि आफ्नो पुख्र्यौली थलो पहाडतर्फ जाने गर्छन् ।

गौरा पर्वका धार्मिक विधि पूरा भएपछि नवमी तथा त्यसपछिका दिनमा स्थानीय परम्पराअनुसार गौरा सेलाउने वा विसर्जन गर्ने गरिन्छ । टाढा रहेका आफन्त तथा परिवारका सदस्यहरू समेत घर फर्किने भएकाले गौरा पर्व पारिवारिक पुनर्मिलनको अवसरका रूपमा समेत स्थापित छ ।

सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परासँग जोडिएको गौरा पर्व धार्मिक आस्था, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र देउडा संस्कृतिको संगमका रूपमा मनाइँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

धुर्कोटका सुन्तला बिक्री हुन थाले