नमूना बस्ती पहिरोको उच्च जोखिममा

दैलेख । अविरल वर्षाका कारण दैलेखको नारायण नगरपालिका–१, नमूना बस्ती पहिरोको उच्च जोखिममा छ । आइतबार परेको झरीका कारण गए राति बस्तीमा पहिरो जान थालेपछि आठ घर परिवारका ३७ जना सर्वसाधारण विस्थापित भएका छन् ।

पहिरोको जोखिम बढे लगत्तै जिल्ला प्रहरी कार्यालय, दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमान्डमा खटिएको टोलीले स्थानीय जन प्रतिनिधिसँग समन्वय गरी पीडितलाई उद्धार गरेको छ ।

विस्थापित ३७ जनालाई सोही वडामा रहेको तरकारी सङ्कलन केन्द्रको भवनमा राखिएको छ । भिरालोमा रहेको ६५ घरधुरीको यो बादी बस्तीमा एउटा घर पुरिँदा सिङ्गो बस्ती नै जोखिममा पर्ने अवस्था छ ।

यसअघि पहिरोमा परी रूपा बादी, उनकी छोरी सपना र छोरा विष्णुको मृत्यु भइसकेकाले स्थानीय त्रासमा छन् । विस्थापित कमला बादीले पटक–पटक कारागार, भेटेरिनरी र तरकारी सङ्कलन केन्द्रमा आश्रय लिनुपर्ने बाध्यता रहेको भन्दै स्थायी स्थानान्तरण नभएसम्म पुरानो बस्तीमा नफर्किने बताइन् ।

नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देश श्रेष्ठले बस्तीको प्रत्यक्ष अनुगमन गरी प्रभावितसँग छलफल गरिएको जानकारी दिए ।’ नमूना बस्तीमा पुगेर वस्तु स्थिति हेरेका छौँ र नगरप्रमुखसहित बस्तीका अगुवाहरूसँग छलफल गरेका छौँ,’ वडाध्यक्ष श्रेष्ठले भने ।

तत्कालको झरीको अवस्थालाई हेरेर दीर्घकालीन व्यवस्था गर्ने कुरा भएको छ । पानी पर्न बित्तिकै वर्षौँदेखिको पहिरोको जोखिम अन्त्य हुने गरी बादी समुदायलाई अन्यत्रै स्थानान्तरण गर्ने कुरा भएको छ ।

उनीहरूको भूमि आयोगबाट निसा भइसकेकाले त्यसलाई छिट्टै प्रक्रियामा लगेर स्थायी व्यवस्थापन गरिनेछ । यसैगरी दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द शारूले स्थानीय तहले छिटो र छरितो रूपमा काम अघि बढाए जग्गा खोजी गरी बादी समुदायको स्थायी व्यवस्थापन गर्न प्रशासन तयार रहेको बताए ।

‘सुकुम्बासी हुन् भने नगरपालिकाले छिटो काम अगाडि बढाउनुपर्छ, हामी जग्गा खोज्छौँ,’ प्रजिअ शारूले भने, ‘बादी समुदायले पनि हामीलाई रोजेकै ठाउँ चाहिन्छ भन्नु राज्यको नीतिसँग मिल्दैन ।’

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

नमूना बस्ती पहिरोको उच्च जोखिममा