काठमाडौं । कवि एवं अग्रज सिनेकर्मी प्रकाश सायमी रसुवाका बाढीपीडित परिवारका लागि राहत तथा सहयोग जुटाउने उद्देश्यले बुधबार एकल कविता वाचनमा उत्रँदै छन् ।
ललितपुर पाटनढोकास्थित यल माया केन्द्रमा दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रममा सायमीले आफ्ना नयाँ तथा पुराना कविता प्रस्तुत गर्नेछन् । साहित्यिक प्रस्तुतिलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजना गर्न लागिएको कार्यक्रममा कविता वाचनसँगै बाढीपीडितका लागि स्वेच्छिक आर्थिक सहयोगसमेत संकलन गरिने छ ।
प्राकृतिक विपत्तिका कारण ठूलो क्षति व्यहोरेका रसुवाका परिवारको पीडामा आफूले सकेको साथ दिन कार्यक्रम आयोजना गरिएको सायमीले बताए । उनका अनुसार विपद्का बेला पीडितलाई तत्काल राहत सामग्रीसँगै आर्थिक सहयोगको पनि आवश्यकता हुने भएकाले साहित्य र सिर्जनालाई मानवीय सेवाको माध्यम बनाउन खोजिएको हो ।
‘देशको घाउमा अलिकति मलम लगाउने प्रयासमात्रै हो,’ कवि सायमी भन्छन्, ‘यस्तो विपद्मा रमाइला कार्यक्रम गरी पीडामा साथ दिन हामी स्रष्टा सधैं अग्रसर हुनुपर्छ ।’ सायमीका लागि साहित्य मनोरञ्जन वा व्यक्तिगत अभिव्यक्तिको माध्यममात्र होइन, समाजप्रतिको जिम्मेवारी निर्वाह गर्ने एउटा सशक्त माध्यम पनि हो । यही सोचसाथ उनले यसअघि पनि प्राकृतिक विपत्तिका समय काठमाडौंसहित पोखरा, नारायणगढलगायत सहरमा राहत तथा सहयोग जुटाउने कार्यक्रम सञ्चालन गरेका थिए । विपद्का बेला कलाकार, साहित्यकार र स्रष्टाको उपस्थिति र सक्रियताले पीडित परिवारमा भावनात्मक हौसला थप्नुका साथै समाजमा सहयोग र ऐक्यबद्धताको भावना विस्तार गर्न सक्ने उनको विश्वास छ ।
रसुवामा बाढीका कारण प्रभावित परिवारलाई अहिले खाद्यान्न, लत्ताकपडालगायत आधारभूत सामग्रीसँगै नगद सहयोगको पनि आवश्यकता रहेको सायमी बताउ“छन् । विपद्पछिको पुनस्र्थापना र दैनिक जीवनमा फर्कन पीडित परिवारलाई लामो समयसम्म सहयोग आवश्यक पर्ने भएकाले तत्कालीन राहतसँगै निरन्तर सहयोगको वातावरण बनाउनुपर्ने उनको धारणा छ ।
‘यो पीडामा कवि, लेखक, साहित्यकार सबैले साथ दिनुपर्छ,’ सायमी भन्छन्, ‘पीडित परिवारको राहत तथा सहयोगका लागि साहित्यिक कार्यक्रममार्फत आर्थिक सहयोग जुटाउने पहल निरन्तर रहने छ ।’
सायमीले साहित्यिक क्षेत्र समाजबाट अलग नरहेको बताउँदै सिर्जनशील व्यक्तिले आफ्नो कला र प्रतिभा मानवीय सेवासँग जोड्नुपर्नेमा जोड दिए । उनका अनुसार कविता मानिसको संवेदना छुने माध्यम भएकाले त्यसलाई विपद्मा परेका परिवारप्रति सहानुभूति, एकता र सहयोगको भावना जगाउने अभियानका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
एकल कविता वाचनमा सायमीले आफ्ना विभिन्न कालखण्डका कविता प्रस्तुत गर्नेछन् । उनका नयाँ तथा पुराना सिर्जनामार्फत साहित्यप्रेमीलाई कविताको भाव, संवेदना र सौन्दर्यसँग जोडिन पाउने अवसर मिल्ने छ भने कार्यक्रमको अर्को महŒवपूर्ण उद्देश्य विपद्मन परेका परिवारप्रति सामूहिक ऐक्यबद्धता जनाउनु पनि हो ।
कार्यक्रममा भौतिकरूपमा उपस्थित हुन नसक्ने साहित्यप्रेमी तथा शुभेच्छुकलाई समेत सायमीले आफूले सकेको स्वेच्छिक आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । कार्यक्रममा उपस्थित भएर कविता सुन्ने दर्शकदेखि घरमै बसेर सहयोग गर्न चाहने सर्वसाधारणसम्मलाई राहत अभियानमा जोड्ने प्रयास गरिएको हो । उनका अनुसार कार्यक्रममा संकलित रकम पारदर्शीरूपमा रसुवाका बाढीपीडित परिवारको राहत तथा सहयोगका लागि हस्तान्तरण गरिने छ । संकलित सहयोग वास्तविक पीडितसम्म पुग्नेगरी आवश्यक समन्वय र व्यवस्थापन गरिने उनी बताउँछन् ।
‘कविता वाचनलाई साहित्यिक प्रस्तुतिमै सीमित नराखी मानवीय सहयोग जुटाउने माध्यमका रूपमा प्रयोग गर्न खोजेका छौं,’ सायमीले भने, ‘साहित्यप्रेमीका लागि यो कविता सुन्ने अवसरसँगै विपद्मा परेका परिवारलाई सहयोग गर्ने अवसरसमेत हो ।’
उनले विपद्का बेला सहयोगको सानो प्रयासले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्ने विश्वास व्यक्त गरे । साहित्य, कला र सिर्जनाका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने उल्लेख गर्दै उनले यस्ता अभियानमा स्रष्टा तथा साहित्यप्रेमीको निरन्तर सहभागिता आवश्यक रहेको धारणा राखे । सायमीले साहित्यप्रेमी, कवि, लेखक, कलाकार तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । उनका अनुसार कविता वाचनको आनन्दसँगै मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई जोड्ने यो कार्यक्रम रसुवाका बाढीपीडित परिवारप्रति ऐक्यबद्धता प्रकट गर्ने एउटा सानो प्रयास हो ।
‘हामीले गर्ने सहयोग ठूलो वा सानोभन्दा पनि विपद्मा परेका मानिससँग हामी छौं भन्ने अनुभूति दिलाउनु महŒवपूर्ण हो,’ सायमीले भने, ‘साहित्य र सिर्जनाले मानिसलाई जोड्ने काम गर्छ । अहिले त्यही जोडलाई सहयोग र सहकार्यमा बदल्ने प्रयास हो ।’ बाढीपीडित परिवारको दुःखमा साहित्यिक समुदायलाई पनि सहभागी गराउने उद्देश्यसहित आयोजना हुन लागेको एकल कविता वाचनले कला, साहित्य र सामाजिक उत्तरदायित्वबीचको सम्बन्ध थप बलियो बनाउने अपेक्षा कवि सायमीको छ ।
सम्बन्धित समाचार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
सालपा पोखरी मेलामा कुटपिटवाट शिक्षकको हत्या, ११ जना पक्राउ
भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम, अर्को सूचना नभएसम्म प्रयोग नगर्न आग्रह
‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै
रसुवा बाढीमा बेपत्ताको पहिचान गर्न सुदूरपश्चिममा आफन्तको डीएनए नमूना संकलन
बालिका करणी अभियोगमा धनबहादुर पक्राउ






