काठमाडौं । अग्रगामी मोर्चा निकटको अग्रगामी युवा मोर्चाले मुल्यबृद्धि नियन्त्रण तथा ग्यासको सहज आपुर्तिको माग गर्दै सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । आउँदो असोज ६ गते अग्रगामी युवा मोर्चाले नेपाल आयल निगमको काठमाडौं स्थित केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।
आम जनता पार्टी (आजपा)को काठमाडौं स्थित कार्यालयमा आज बसेको अग्रगामी युवा मोर्चाको बैठकले आयल निगमको कार्यलय घेराउ गर्ने निर्णय गरेको हो । वैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापामगर, प्रवक्ता सुभाष साह लगायतको विशेष सहभागिता रहेको थियो ।
लामो समयदेखि खाना पकाउने एलपी ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार भइरहँदा पनि बजार अनुगमन सुस्त रहेको भन्दै युवा मोर्चाले बजार मूल्य नियन्त्रण गर्न र अत्यावश्यक सामग्रीको सर्वसुलभ उपलब्धता सुनिश्चित गर्न सरकारसंग माग गरेको छ ।
‘ग्यास आपुर्तिमा देखिएका समस्या समाधान गर्न तथा पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि घटाउन यही असोज ६ गते अग्रगामी युवा मोर्चाद्धारा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरेका छौं,’ मुल्य बृद्धि नियन्त्रण तथा ग्यास आपुर्तिका लागि अग्रगामी युवा मोर्चाको बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
देशमा बढ्दो मूल्यवृद्धि, कालोबजारी र सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अग्रगामी युवा मोर्चाले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारसमक्ष विभिन्न ५ बुँदे माग राखेर संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ ।
अग्रगामी युवा मोर्चामा रहेका समाजवादी युवा संघ नेपालका अध्यक्ष मनिष यादव, समाजवादी युवा संगठनका संयोजक जनकबहादुर कार्की, विद्यार्थी जनमत संघका संयोजक पोषण कुमार यादव, खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका प्रतिनिधि विप्लव खुम्बु, आईटी आर्मीका केन्द्रीय प्रतिनिधि राजेश शर्मा, आम विद्यार्थी मोर्चाका केन्द्रीय सचिव प्रिन्स साह, समाजवादी विद्यार्थी युनियन नेपालका उपमहासचिव मुकेश कुमार यादव र कमन जेनजी नेपालका केन्द्रीय प्रतिनिधि रवि ध्वज कार्की, युवा संगठन (प्रलोपा)का सहसंयोजक डिएन जोशीले हस्ताक्षर गरेका छन् ।
मोर्चाले आफ्ना मागहरू पूरा नभए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत सरकारलाई दिएको छ । अग्रगामी युवा मोर्चाले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठुलो धनजनको क्षति भएको भन्दै मोर्चाले तीनै तहका सरकारबीच समन्वय नहुँदा उद्धार र राहत कार्य प्रभावकारी नभएको आरोप लगाएको छ ।
प्राकृतिक विपद् प्रभावितहरूलाई तत्काल एकीकृत समन्वयमार्फत उद्धार, उचित राहत र स्थायी पुनस्र्थापनाको माग युवा मोर्चाले गरेको छ । मुलुकमा संस्थागत हुँदै गएको भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीको अन्त्य गरी पारदर्शी एवं सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैगरी, स्वदेशमै रोजगारीका अवसर सिर्जना नगरी दैनिक हजारौँ युवा विदेशिन बाध्य भएको स्थितिमा वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियाको सञ्जाललाई तत्काल नियन्त्रण गर्न सरकारसंग जोडदार माग गरेको छ । आफूहरुको यी जायज मागहरूप्रति सरकारले तत्काल ध्यान नदिएमा अग्रगामी युवा मोर्चा देशव्यापी रूपमा सशक्त आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउन बाध्य हुने चेतावनी समेत दिइएको छ ।
सम्बन्धित समाचार
बागमतीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री
सरकार टिकाउन मुख्यमन्त्रीले बनाए देवकोटालाई ऊर्जा मन्त्री
राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ: रवि
दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री
एमाले विवादः बल्थली बैठक असफल, प्रतिवेदन मिलाउन अर्को कार्यदल






