अन्तरसंंघर्ष व्यवस्थापनमा एमाले, एकताको ढोका खोल्दै नेकपा

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा पार्टी एकताको विषयमा प्रवेश नगरे पनि दुवै दलभित्रका पछिल्ला गतिविधिले वाम सहकार्य र एकताको सम्भावनालाई पुनः बहसमा ल्याएको छ ।

एमाले आफ्नो घरभित्रको अन्तर्संघर्ष व्यवस्थापन गर्दै संगठनलाई निर्वाचनका लागि तयार पार्ने रणनीतिमा देखिएको छ भने नेकपाले अन्य कम्युनिस्ट घटकसँग एकताको संवाद अघि बढाउन औपचारिक वार्ता समिति बनाएको छ ।

करिब ६ वर्षअघि विभाजनको बाटो रोजेको तत्कालीन नेकपाका प्रमुख नेताहरूकै तहमा पछिल्लो समय संवाद बढेको स्रोतको दाबी छ । यद्यपि दोस्रो र तेस्रो तहका नेताहरूले पार्टी एकताका विषयमा भइरहेको भनिएको तयारी अस्वीकार गर्दै आएका छन् । दुवै दलका औपचारिक संरचनामा अध्यक्षहरूकै प्रभाव बलियो रहेकाले नेतृत्व तहमा सहमति बने पार्टी एकताको ढोका खुल्न सक्ने आकलनसमेत हुन थालेको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा भने अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । मंगलबार बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि धारणा राख्न थालेका छन् । प्रत्येक सदस्यलाई अधिकतम तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्य मनोनयन, विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनलगायत सांगठनिक विषय पनि अघि बढाइने कार्यसूची छ ।

बैठकमा अध्यक्ष ओलीले पार्टी पुनर्गठन र तत्काल नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्ने धारणा अघि सारेका छन्। यसअघि जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि एमालेभित्र नीति, संगठन र नेतृत्व पुनर्गठनको बहस चर्किएको थियो ।

महासचिव शंकर पोखरेलसहित केही नेताले पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषय उठाए पनि ओली पक्ष तत्काल नेतृत्व परिवर्तन आवश्यक नरहेको पक्षमा देखिएको छ । बैठकमा मोबाइल प्रयोग तथा अडियो–भिडियो रेकर्डिङमा समेत रोक लगाइएको छ ।

यसैबीच, नेकपाले मंगलबार कम्युनिस्ट घटकसँग एकताको पहल गर्न देव गुरुङको संयोजकत्वमा प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

समितिलाई विचार मिल्ने देशभक्त, गणतन्त्रवादी दल तथा समूहसँग एकताका लागि वार्ता गर्ने जिम्मेवारी दिइएको छ । नेकपाको बैठकको आठबुँदे एजेन्डामै ‘पार्टीमा समाहित गर्ने’ विषय राखिएको थियो ।

नेकपाका नेता वर्षमान पुन भने एमालेसँग पार्टी एकता हुने वा एकतापछि नेताहरूबीच पद बाँडफाँट हुने चर्चा सत्य नभएको दाबी गर्छन् । तर एमालेसँग सहकार्यको कोणबाट छलफल सुरु भएको तथ्य भने उनले स्वीकार गरेका छन् । नेकपाको वार्ता समिति गठनलाई एमालेसँगको सम्भावित संवादसहित वाम घटकबीच सहकार्यको आधार तयार गर्ने प्रयासका रूपमा हेरिएको छ ।

एमाले र नेकपाबीचको दूरी घटाउने अर्को आधार रास्वपा नेतृत्वको सरकारप्रतिको दृष्टिकोण पनि बनेको छ । केही महिनादेखि दुवै दलका नेताहरूले सरकारका कतिपय कदमप्रति समान प्रश्न उठाउँदै संसद् र सडकमा सहकार्यको सम्भावना खोज्दै आएका छन् । प्रदेश राजनीतिमा पनि दुवै दलबीच सहकार्यको अभ्यास अघि बढेको छ । कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाको नेतृत्व हुनेगरी पाँच प्रदेशमा सहकार्य गर्ने सहमति यसअघि भइसकेको छ ।

एमाले केन्द्रीय कमिटीमार्फत पार्टीभित्रको अन्तर्संघर्ष, निर्वाचन पराजय र नेतृत्व पुनर्गठनको प्रश्न व्यवस्थापन गर्न खोजिरहेको छ भने नेकपाले वार्ता समितिमार्फत अन्य वाम घटकसँग एकताको आधार तयार गर्न थालेको छ । दुवै प्रक्रियाले आगामी निर्वाचनअघि वाम शक्तिबीच सहकार्य, तालमेल वा एकताको स्वरूप’bout बहसलाई भने थप सक्रिय बनाएको छ ।

एमाले बैठक लम्बिने
एमालेको केन्द्रीय कमिटी बैठक पूर्वनिर्धारित समयभन्दा लम्बिने भएको छ। बैठककै बीचमा बुधबार सचिवालय बैठक बस्ने र त्यसपछि केन्द्रीय कमिटी बैठक अघि बढाउने तयारी भएको छ । उपलब्ध पछिल्लो विवरणअनुसार बिहीबारसम्म बैठक जारी राख्ने तयारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

महिलाको आँसुले चोरको मन पग्लियो !