अविरल वर्षा र बाढीपहिरोले विभिन्न स्थानका विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ । केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत केन्द्रको उत्पादनसमेत प्रभावित भएको छ ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । त्यस्तै, कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ । यसका कारण करिडोर प्रसारण लाइनमा जोडिएका करिब ३५८ मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ ।

बाढीको जोखिमका कारण कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, मोदीलगायतका जलविद्युत् केन्द्रको उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ ।

बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी तथा ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको जनाइएको छ ।

प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन, वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको जनाइंएको छ । सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण÷वितरण संरचनामार्फत विद्युत आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ ।

भारी वर्षा, बाढीपहिरो र अवरुद्ध सडकका कारण केही क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको जनाइएको छ । सडक तथा पहुँचमार्ग खुल्नासाथ थप टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको कार्य तीव्र बनाइने भएको छ ।

प्राकृतिक विपद्का कारण प्रभावित विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकताका साथ सबै उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जनाइएको छ ।

विपद्को अवस्थामा संयमित रहन तथा क्षतिग्रस्त विद्युत् संरचना, ढलेका पोल र तार नजिक नजान सम्पूर्ण उपभोक्तामा उर्जा मन्त्रालयले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

छुटे पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा