सुन्दरहरैँचा (मोरङ) । चाडपर्वको उल्लाससँगै स्थानीय उत्पादन, मौलिक खानपान, व्यापार, पर्यटन र कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचामा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सुन्दरहरैँचा–१०, विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा फेस्टिभल सञ्चालन हुने भएको हो।
राजेशपायल राईदेखि रचना रिमालसम्मका कलाकारको प्रस्तुति रहने, स्थानीय स्वाद र संस्कृतिलाई प्राथमिकता
फेस्टिभलका विषयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमको तयारी, मुख्य आकर्षण, व्यवस्थापन र आर्थिक पक्ष’bout जानकारी गराएको छ। सुन्दर होटल पर्यटन व्यवसायी सङ्घ सह–आयोजक रहेको फेस्टिभलमा दुई लाखभन्दा बढी दर्शक तथा अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आयोजना गर्न लागिएको फेस्टिभलमा स्थानीय स्वाद, मौलिक संस्कृति र मनोरञ्जनलाई विशेष प्राथमिकता दिइनेछ। नेवारी खानासहित विभिन्न जातजातिका परम्परागत खाद्य परिकार, कृषि तथा घरेलु उत्पादन, हस्तकला र व्यापारिक सामग्रीको प्रदर्शनी तथा बिक्री फेस्टिभलका प्रमुख आकर्षण रहनेछन्।
राष्ट्रिय कलाकारको प्रस्तुतिले थपिनेछ चाडपर्वको रौनक
फेस्टिभलमा चर्चित गायक राजेश पायल राई, सविन राई, रचना रिमाल, डम्बर नेपाली, प्रीति आले मगर, एलिना चौहान र मिलन परियारलगायत कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। स्थानीय तथा राष्ट्रिय कलाकारको सहभागितामा सञ्चालन हुने सांगीतिक कार्यक्रमसँगै विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधिसमेत सञ्चालन गरिनेछन्।
बेलुका १० बजेसम्म सञ्चालन हुने फेस्टिभललाई परिवारसहित घुम्न, स्थानीय परिकारको स्वाद लिन र मनोरञ्जन गर्न सकिने उत्सवका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका दर्शकलाई लक्षित गरी कार्यक्रम तयार पारिएको आयोजकको भनाइ छ।
फेस्टिभलमा विभिन्न प्रकृतिका १४ वटा व्यावसायिक स्टल रहनेछन् भने स्थानीय उत्पादन तथा सामाजिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनका लागि छवटा निःशुल्क स्टल उपलब्ध गराइनेछ। यसबाट स्थानीय व्यवसायी, उद्यमी तथा उत्पादकले आफ्ना वस्तु तथा सेवाको प्रचारप्रसार, बिक्री वितरण र बजार विस्तार गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले फेस्टिभललाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादन, व्यापार, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्न खोजिएको बताए।
स्थानीय व्यवसायीलाई बजारसँग जोड्ने, उपभोक्तालाई स्थानीय उत्पादनसँग परिचित गराउने र सुन्दरहरैँचाको आर्थिक तथा पर्यटकीय पहिचान विस्तार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको अध्यक्ष कार्कीले स्पष्ट पारे। उनले कार्यक्रम सफल बनाउन व्यवसायी, स्थानीय तह, सञ्चारमाध्यम, सुरक्षा निकाय तथा आम नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सहभागिताका लागि आग्रह गरे।
फेस्टिभलका संयोजक ज्ञानप्रसाद ढकालले चाडपर्वको उल्लासलाई स्थानीय स्वाद, संस्कृति र मनोरञ्जनसँग जोड्ने गरी कार्यक्रमको तयारी भइरहेको बताए। उनका अनुसार नेवारी परिकार तथा विभिन्न जातजातिका मौलिक खानालाई विशेष महत्त्व दिइनेछ। सांगीतिक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिमार्फत दर्शकलाई आकर्षित गर्नुका साथै स्थानीय कला, संस्कृति, भाषा, भेषभूषा तथा परम्पराको संरक्षण र प्रचारप्रसारमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
सङ्घका महासचिव हरि कार्कीले फेस्टिभललाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक तयारी भइरहेको जानकारी दिए। उनका अनुसार कार्यक्रम अवधिभर सुरक्षा, सरसफाइ, विद्युत्, खानेपानी, पार्किङ, प्राथमिक उपचार तथा भीड व्यवस्थापनलाई प्राथमिकतामा राखिनेछ। कार्यक्रम सञ्चालनका लागि सम्बन्धित सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा सरोकारवाला संस्थासँग समन्वय गरिने उनले बताए।
एक करोड दुई लाख आम्दानी, १५ लाख बचतको लक्ष्य
आयोजकले फेस्टिभलबाट कुल एक करोड दुई लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। टिकट बिक्रीबाट ८५ लाख रुपैयाँ, मुख्य प्रायोजक तथा सह–प्रायोजकबाट १० लाख रुपैयाँ र मनोरञ्जन तथा खेलकुद गतिविधिबाट सात लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
त्यस्तै, कलाकार व्यवस्थापन, मैदान व्यवस्थापन, विद्युत् तथा बत्ती, खानेपानी, सरसफाइ, कर्मचारी पारिश्रमिक, अतिथि सत्कार, आवास, खाना, प्रचारप्रसार तथा छपाइलगायत शीर्षकमा कुल ८७ लाख रुपैयाँ खर्च हुने अनुमान छ। अनुमानित आम्दानी र खर्चका आधारमा करिब १५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य आयोजकले राखेको छ। बचत रकम सङ्घको संस्थागत विकास, व्यवसायीको हित, सामाजिक उत्तरदायित्व तथा आगामी कार्यक्रम सञ्चालनमा उपयोग गरिने जनाइएको छ।
फेस्टिभलको मुख्य प्रायोजक नेपालीरिका होटल रहेको छ। प्रायोजकहरूमा पार्थिभरा फुड प्रोडक्ट, चामुण्डा फुड (बेली), कञ्चनजङ्घा इन्जिनियरिङ प्रा.लि., प्रणाम इँटा, प्रिन्स इँटा, टुबोर्ग बियर, म्याक्स टाइगर इनर्जी ड्रिंक्स, ग्रिनसिटी हाउजिङ र आर.एन.जी. ग्रुप रहेका छन्।
स्थानीय उत्पादनको बजार विस्तार, मौलिक खानाको पहिचान, सांस्कृतिक विविधताको संरक्षण र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको फेस्टिभलले सुन्दरहरैँचाको आर्थिक गतिविधि चलायमान बनाउन तथा स्थानीय व्यवसायीका लागि नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। आयोजकले फेस्टिभललाई सभ्य, सुरक्षित, व्यवस्थित, पारिवारिक र मनोरञ्जनपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ।
सम्बन्धित समाचार
कृषि यान्त्रिकीकरणमा जोड, किसानलाई मिनी टिलरदेखि प्लास्टिक टनेलसम्म
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
लिट्मस इन्डस्ट्रिजद्वारा पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेप्से परिसूचक स्थिर रहे पनि कारोबार रकम भने बढ्यो
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता व्यवस्थित गरिँदै
रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?





