काभ्रे । बुधबार, घडीमा १ बज्दै थियो । पनौती नगरपालिका वडा नं ७ मा पनौती स्वास्थ्य चौकीमा एक महिलाबाट पहिलो पटक प्रसुति सेवाको प्रारम्भ भयो । खानीखोला गाउँपालिका वडा नं ७, मिल्चेकी २७ वर्षीय सुस्मिता रुम्बाले उक्त संस्थाबाट प्रसुति सेवा लिइन् । गर्भवस्थादेखि नै स्वास्थ्यचौकीमार्फत चेकजाँच गराउँदै आएकी उनले संस्थाबाट प्राप्त सेवा सुविधा र विश्वासकै कारण संस्थामा प्रसुती गराएको उनले बताइन् । प्रसुतीको दिन नजिकिदैँ गएसँगै परिवारको सल्लाह अनसार नै स्वास्थ्य चौकीमै प्रसुति गराउने निर्णय गरेको रुम्बाले सुनाइन् ।
‘गर्भवास्थादेखि नै स्वास्थ्य चौकीमा चेकजाँच गराउँदै आएकाले स्वास्थ्य संस्थाप्रति निकै विश्वास थियो,’ उनले भनिन्, ‘रातको समयमा अन्य ठाउँमा भौतारिनु भन्दा यहाँ प्रसुति गराउँदा सजिलो भयो । हामीलाई पहिलेदेखि नै स्वास्थ्यचौकीप्रति धेरै नै विश्वास राखेको थियौ । प्रसुती पनि राम्रै भयो ।’ स्वास्थ्यचौकीमार्फत आफूबाट सेवा प्रराम्भ गराउन पाउँदा धेरै खुशी मिलेको उनले बताइन् । सुस्मितामात्र नभएर स्वास्थ्चौकीमा पहिलो पटक प्रसुति सेवाको सुरुवात हुदाँ स्वास्थ्यकर्मीहरुले पनि खुशी व्यक्त गरेका थिए । उक्त संस्थामा बर्थिङ सेन्टर र ल्याब संचालनमा ल्याएसंगै वडा सदस्य पुरुषोत्तम कर्मार्चायले आफ्नो व्यक्तिगत तर्फबाट पहिलो पटक बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलालाई ५ हजार ५ सय ५५ रुपैया प्रोत्साहन सहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिबद्धता अनुसार पनौती नगरपालिकाको प्रमुख भिम न्यौपाने, पनौती नगरपालिका स्वास्थ्य प्रमुख पुरुषोत्तम तिमल्सिना सहिको उपस्थितिमा वडा सदस्य कर्मार्चायले सुस्मितालाई नगदसहित दुई लिटर तोरीको तेल वितरण गरिएको थियो । उक्त बर्थिङ सेन्टरको नगर प्रमुख भिम न्यौपानेले औपचारीक रुपमा उद्घघाटन गरिएपछि संचालनमा रहेको थियो । बर्थिङ सेन्टर संचालनमा ल्याएसँगै नियामित चेकजाँच गरेर प्रसुती सेवा सफल गराउन सकेको नगर प्रमुख न्यौपानेले बताए । उनका अनुसार नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगरले स्वास्थ्य क्षेत्रमा लगानी गरिरहेको छ ।
सुरक्षित मातृत्व र सुरक्षित प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै नियमित गर्भजाँचलाई जोड दिन यस्तो प्रोत्सहानको कार्यक्रम ल्याएको वडा सदस्य कर्मचार्यले बताए । केही महिना अघि आफूले गरेको प्रतिबद्धता पूरा भएकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘यो कार्यक्रम प्रभावकारिता देखिएकाले यस स्वास्थ्य संस्थामा प्रसुति गराउने दोस्रो र तेस्रो महिलालाई पनि उक्त सम्मान गर्ने योजना बनाएका छौँ । यो सानो पहलले महिलाको प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वले स्वास्थ्यको क्षेत्रमा टेवा पुग्ने अपेक्षा राखेका छौँ ।’
वितरण कार्यक्रममा नेपाल सरकारबाट नियामित गर्भजाँच गराए बापत २८ सय रुपैया र नगरपालिकाको तर्फाबाट थप १ हजार सुत्केरी भत्तासमेत नगर प्रमुख न्यौपानेबाट सुस्मिता रुम्बालाई वितरण गरिएको थियो । उक्त स्वास्थ्य संस्थाले सुरक्षित मातृत्व र सुरक्षित प्रजनन स्वास्थ्यको लागि गर्भजाँच गराउने आउने हरेक महिलालाई अण्डा र बच्चाको लागि पोषण पिठो वितरण गर्दै आएको छ । स्थानीय सरकार गठन भएसँगै संस्थामार्फत करिब ३५ जना महिलाले गर्भ जाँच गराएको स्वास्थ्य संस्थाले जनाएको छ ।
संविधानकोे धारा ३८ को २ ले महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी अधिकारको व्यवस्था गरेको छ । सोही हकलाई कार्यान्वयन गर्न सरकारले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि विधेयक पनि बनाएको छ । त्यस्तै, नेपालको अन्तरिम संविधान २०६३ को धारा २०(२) ले प्रजनन स्वास्थ्य तथा प्रजनन हकको अधिकार सुनिश्चित गरेको थियो । २०७२ मा जारी भएको नेपालको संविधानकोे धारा ३८(२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ’ भन्ने कुरा उल्लेख गरिएको छ ।
प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी हकलाई मौलिक हकका रूपमा संविधानमै व्यवस्था गरिएको छ । सोही अनुसार स्थानीय सरकारले पनि सुरक्षित मातृत्वको लागि विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । स्वास्थ्य संस्थाबाटै सुरक्षित प्रसुति गराउन महिलाहरुको प्रोत्सहानको लागि सरकारले दिएको सुविधा त छदैँ छ, स्थानीय तहले पनि सुरक्षित मातृत्वको लागि पोषण खाद्यन्न र भत्ता, सुत्केरी भत्ता ३ हजारदेखि ५ हजारसम्मको व्यवस्था गरेको पाइन्छ ।
स्थानीय तहले प्रजनन स्वास्थ्य शिक्षाका साथै गर्भ जाँचका लागि स्वास्थ्य शिक्षालाई प्राथमिकताका साथ उठाउनुपर्ने देखिन्छ । यसका साथै सबै स्थानीय तहको प्रत्येक वडामा गर्भ परिक्षणको व्यवस्था गर्नुको साथै अ.न.मि पनि राख्न सकेमा पनि आमा र बच्चा दुवै स्वस्थ्य हुने देखिन्छ । यसै विषयमा समय समयमा छलफल कार्यक्रम र तालिमको व्यवस्था गर्न सकेमा स्थानीय तहको कार्य प्रभावकारी पनि देखिन्छ ।