बर्दिया । लकडाउन भएयता राजमार्गमा सवारीसाधन खासै गुडेका छैनन् । राजमार्गमा सवारीसाधनको चाप नभएपछि निकुञ्जका वन्यजन्तु दिनहुँजसो राजमार्गमै देखिन थालेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने पुर्व पश्चिम महेन्द्र राजमार्गमा दिनहुँजसो पाटेबाघ र जंगली हात्ती लगायतका वन्यजन्तुहरु देखिने गरेका छन् । पहिले जंगलभित्र मात्रै देखिने बाघ, हात्ती लगायतका वन्यजन्तुहरु लकडाउनका बेला खुला र सुनसान भएपछि राजमार्गमै ‘क्यावाक’ गर्न थालेका हुन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्छन् ‘राजमार्गमा सवारीको चाप कम भएर होला अहिले बर्दिया निकुञ्ज भित्र पर्ने राजमार्ग पूर्णरुपमा शान्त छ । त्यसैले पाटेबाघ र जंगली हात्तीलगायतका वन्यजन्तु राजमार्गमै देखिन्छ । कहिलेकाँही त बाघले त राजमार्ग नै छेकेर बसेका हुन्छन् ।’
बाघ मात्रै होइन बाघ, हात्ती, गैँडा जस्ता ठूला वन्यजन्तुहरुले निकुञ्जभित्र पर्ने राजमार्गमा निर्बाद रुपमा हिँडडुल र ओहोरदोहोर गर्न थालेका छन्

राष्ट्रिय प्रकृती संरक्षण कोष ठाकुरद्धारा बर्दिया संरक्षण कार्यक्रमका प्रमुख डा. रबिन कडरियाको भनाई अनुसार अचेल राजमार्गमा दिनहु बाघको ‘क्याटवाक’ हुन्छ । कडरिया भन्छन्, ‘बाघ मात्रै होइन बाघ, हात्ती, गैँडा जस्ता ठूला वन्यजन्तुहरुले निकुञ्जभित्र पर्ने राजमार्गमा निर्बाद रुपमा हिँडडुल र ओहोरदोहोर गर्न थालेका छन् ।’
‘कहिलेकाँही निकुञ्जको गस्तिमा निस्कँदा राजमार्गमा पाटेबाघ बसेको, बिच सडका हिँडिरहेको, राजमार्गको बिच सडकमा सुतेको, छेउमा उभिएको देख्न पाईन्छ, राजमार्गमा जडान गरेको क्यमरामा पनि हरेकदिन बाघ पर्ने गरेका छन्’ डा. कडरिया भन्छन् ‘निकुञ्ज भित्र पर्ने राजमार्गमा दिनहुँजसो पाटे बाघ देखिन थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जका जंगली हात्ती र बाघ यतिबेला पुर्व पश्चिम राजमार्गमा दिनहुँ ‘क्याटवाक’ गर्छन्।’
राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक तथा आर्थिक सहयोगमा पुर्व पश्चिम राजमार्ग छेउछाउमा बर्दिया निकुञ्जले १० स्थानमा क्यामरा जडान गरेको छ । लकडाउनका बेला वन्यजन्तुको राजमार्गमा ओहोरदोहोरको अवस्था अध्ययन गर्न जडान गरिएका क्यामरामा एउटै बाघ लगातार झण्डै चार किलोमिटर राजमार्गमा हिँडेको तस्विर समेत रेकर्ड भएको डा. कडरियाले बताए ।
निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको प्राविधिक सहयोगमा लकडाउन सुरु भएपछि राजमार्गको १६ किलोमिटर दुरिमा १० ठाउँमा क्यामेरा जडान गरेको छ । ‘क्यामेराले रातभर राजमार्गमा पाटे बाघ हिँडडुल गरिरहेको तस्बिर कैद गरेको छ, ‘होहल्ला नहुँदा बाघ, हात्तीलगायतका वन्यजन्तुहरु राजमार्गमा स्वतन्त्र रूपमा हिँडिरहेका देखिन्छन्’ कडरियाले भने ।
एकै दिनमा तीन वटा बाघ नजिकैबाट देखेका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने ‘अहिले बाघ हेर्न निकुञ्जको घना जंगलभित्र पस्नै पर्दैन बाघ त राजमार्गमै भेटिन्छन् । गस्तिमा निस्कँदा निकुञ्ज कार्यालयदेखि अलिकति भित्र गयो भनेपनि बाघ नै देखिन्छन् । गस्तीमा जाँदा निकुञ्जका कर्मचारीले एकैदिनमा ५ वटासम्म बाघ १२ वटासम्म गैँडा र ५० बढि हात्तीका हुल पनि देखेका छन् ।’

लकडाउनअघि सवारीसाधनले कब्जा जमाएको निकुञ्जको जंगलभित्र पर्ने पुर्व पश्चिम राजमार्गमा यतिबेला पाटे बाघको चहलपहल बढेको छ । अत्यावस्यक सामाग्री बोकेका गाडीहरु विहान, वेलुका र रातीमा निकुञ्ज भित्रैको राजमार्गमा बाघ र हात्तीका कारण केहिबेर रोकिन समेत पुगेका छन् ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दियाको अम्रेनीबाट कर्णाली चिसापानी पुलसम्म राखिएका स्वचालित क्यामेरामा राजमार्गमा रातभर बाघ हिँड्को देखिएको छ । ‘बर्दिया निकुञ्ज भित्रको जंगलभित्र पनि सहजै देख्न मुस्किल पर्ने पाटे बाघ यतिबेला निकुञ्ज भित्रमा पर्ने राजमार्गमा निर्धक्क हिँडिरहेका र बसिरहेका देखिन्छन्’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले भने ।
क्यामेरामा पाटेबाघसंगै जंगली हात्तीको हुल, चित्तल, जरायो लगायतका वन्यजन्तुहरु पनि कैद भएका छन् । एउटै बाघ धेरै पटक एउटै क्षेत्रमा देखिएको छ

बर्दिया निकुञ्ज भित्रै रहेको पूर्व पश्चिम राजमार्गमा पाटे बाघको ओहोरदोहोर बढेको छ । लकडाउन अवधिभर अम्रेनीदेखि कर्णाली पुलसम्म ८० दिनमा १७ वटा पाटे बाघ राजमार्ग किनारमा राखिएको क्यामेरामा कैद भएका छन् । एउटै बाघ धेरै पटक एउटै क्षेत्रमा देखिएको छ । क्यामेरामा पाटेबाघसंगै जंगली हात्तीको हुल, चित्तल, जरायो लगायतका वन्यजन्तुहरु पनि कैद भएका छन् । एउटै बाघ धेरै पटक एउटै क्षेत्रमा देखिएको छ । रातीको समयमा राजमार्ग क्षेत्रमा कुन कुन वन्यजन्तुको ओहोरदोहोर हुन्छ भन्ने बुझ्नका लागि क्यामेरा जडान गरिएको निकुञ्जले जनाएको छ ।
‘क्यामेरा जडान गरिएकै राजमार्ग क्षेत्रमा केही वर्षअघि बस र जीपको ठक्करबाट दुईवटा पाटे बाघ मरेका थिए । त्यसले गर्दा पनि उक्त क्षेत्र बाघको ओहोरदोहोर हुने मुख्य क्षेत्र रहेको पुष्टि हुन्छ, अहिले क्यामेराको फोटो र भिडियो हेर्दा राजमार्ग र आसपासका क्षेत्रमा बाघको संख्या उल्लेख्य भएको प्रमाणित हुन्छ, ’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने ‘लकडाउनपछि राजमार्गसहित निकुञ्जका अन्य क्षेत्रमा पनि बाघ धेरै देखिएका छन् । गस्तीमा जाँदा पनि दिनहुँ बाघ देखिन्छन् ।’
बरालका अनुसार प्रारम्भिक अध्ययनले बाघको संख्या बढेको अनुमान गर्न सकिने निकुञ्जले जनाएको छ । बर्दिया निकुञ्जमा बाघको संख्या वृद्धि भएको हुन सक्छ । कति कालगतिले मरेका पनि छन् भने कति नयाँ जन्मेका पनि होलान् । ‘हामीले लकडाउनका बेला राजमार्गमा वन्यजन्तुको आवातजावतको अवस्थालाई हेर्न क्यामरा जडान गरेका थियौँ । क्यामरामा हेर्दा अधिकाँश बाघ देखिएको छ । बाघ मजाले राजमार्गको कालोपत्रेमा आफ्ना पाइला मिलाउँदै हिडेको देखिएको छ,’ बरालले भने ।
सवारी साधन नगुड्दा बाघ लगायतका वन्यजन्तुहरु पनि राजमार्ग छेउछाउमा आउने गरेका छन् । हात्तीका झुण्ड पनि देखिएका छन् । दुई महिना अघि निकुञ्जभित्र पर्ने राजमार्ग किनारमा जडान गरिएका १० वटा क्यामरामा झिकेर हेर्दा वन्यजन्तुको ओहोरदोहोरको तरिका पनि फरक भेटियो । पहिले जंगलभित्र देखिने वन्यजन्तु लकडाउनका बेला खुला राजमार्ग र राजमार्ग छेउछाउमै रमाएको देखिएको प्राकृतिक स्रोत संरक्षण सहायक उमेश पौडेलले बताए ।
अम्रेनीदेखि कर्णाली चिसापानीको बिच भागमा पर्ने राजमार्गमा बाघ निकै ओहोरदोहोर गरेको पाइयो । चित्तल, बाह्रसिङ्गाको बथान राजमार्गको तलमाथि घण्टौँसम्म रमाएको फोटो र भिडियो पनि क्यामरामा कैद भएका छन् । सैनवारदेखि रम्मापुरसम्मको राजमार्गमा भने जंगली हात्ती बढि देखिएका छन् ।
निकुञ्ज घुम्न अधिकाँश पर्यटकहरु यही सिजनको पर्खाइमा हुन्थे । ‘यो वन्यजन्तु अवलोकन गर्ने उत्तम समय हो । पर्यटकहरुले यो बेला पाटे बाघ, गैँडा र हात्ती लगायतका वन्यजन्तु सजिलै देख्थे । यो सिजनमा आन्तरिक र वाह्य पर्यटकको ओइरो हुन्थ्यो । तर लकडाउनका कारण अहिले सुनसान भएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले बताए ।
८७ वटा वयस्क पाटे बाघ

अनुगमनको प्रारम्भिक अध्ययनले पाटे बाघ र गैँडाको संख्या बढेको निकुञ्जले अनुमान गरेको छ । बर्दिया निकुञ्जमा सन् २०१८ को बाघ गणनामा ८७ वटा वयस्क पाटे बाघ रेकर्ड गरिएको छ । सन् २०१३ मा ५० रेकर्ड गरिएको थियो भने सन् २०१२ को गणनामा ३७ वटा, सन् २०१० मा १८ वटा, सन् २००९ मा १८ वटा र सन् २००० मा गरिएको बाघ गणनामा १४ वटा वयस्क पाटे बाघ थिए ।
त्यस्तै गैँडाको संख्या सन् २०१८ मा २९ वटा रेकर्ड गरिएको थियो भने सन् २०१७ र २०१८ गरि चितवन राष्ट्रिय निकुञ्जबाट ८ वटा गैँडाको स्थानान्तरण गरिएको थियो । यही चैत महिनाबाट गर्ने भनिएको गैँडा गणना कोरोनाका कारण प्रभावित भएको छ । जंगलीहात्ती एक सयको हाराहारीमा छन् ।
तस्विर सौजन्य : राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया






