दैलेख । बँदेल मारेर मासु खाने २३ जना पक्राउ परेका छन् । दैलेखको नारायण नगरपालिका १ धुलपुरमा गएको आइतबार फुलेनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित २३ जना पक्राउ परेका हुन् ।
डिभिजन वन कार्यालयले गोप्य सुचनाका आधारमा बँदेल मारेर बाँडेर खाने २३ जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका अधिकृत मुनबहादुर रावतले बताए । ‘हामीलाई बँदेल मारेर मासु बाँडन लागेको गोप्य सुचनाका आधारमा छापा मार्दा फुलेनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विकास थापासहित २३ जनालाई पक्राउ ग-यौं । अवैध रुपमा बदेल मारेको सूचनाका आधारमा गएको टोलीले २५ किलो मासु बरामद गरेको छ । खोजतलासी गर्दा पक्राउ पर्नेबाट हातहतियार भेटिएन । बरामद गरिएको केही स्याम्पल कार्यालयमा राखेर अरु मासु खाल्डोमा पुरिसकिएको छ’, रावतले भने ।’ संलग्न रहेका २३ जनालाई कोभिड –१९ को कारण कार्यालयमा नल्याई वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठको जमानीमा छोडिएको अधिकृत रावतले बताए ।
‘कार्यालयमा चाहेको बखत उपस्थिति गराउने गरी वडाअध्यक्षको जमानी रहने गरि छोडिएको हो । पीसीआर रिपोर्ट आएपछि पक्राउ गरिनेछ । बँदेलको मासु भागवण्डामा संलग्न व्यक्ति दोषी ठहर भए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु नियमावली २०३० बमोजिम कार्वाही हुने छ । उक्त ऐन तथा नियमावली अनुसार २० हजार देखि ५० हजारसम्म जरिवाना वा ६ महिना कैद वा दुवै कार्वाही हुनसक्ने प्रावधान रहेको छ ।
यता, वडाअध्यक्ष श्रेष्ठले बँदेलले बाली सखाप पार्न थालेपछि कोहीकसैले थापेको पासोमा परी घाइते भएकोले मारेको बताए । नारायण नगरपालिका, दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न स्थानमा बँदेलले नागरिकले लगाएको बालीनाली खाईदिने गरेको छ । वडामा निवेदन पनि परेका छन् । वडाअध्यक्ष श्रेष्ठले भने, ‘बँदेलले सताएपछि कोहीकसैले पासो थापेका थिए होला । केही दिनअगाडि पासोमा परेर एउटा खुट्टा भाँचिएको थियो । स्थानीयले लखेटेर मारेछन् ।’ ‘बँदेल लखेट्ने क्रममा मरेपछि जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई खबर गरी समुदायमा काटेर खाने योजना बनेको रहेछ सोही क्रममा वन कार्यालयले मासु बरामद गरेको हो’ अध्यक्ष श्रेष्ठले भने ।






