एकातिर जनताको समस्या, अर्कोतिर सरकार र नेकपा

काठमाडौं । कोभिड–१९ र लकडाउनका कारण सर्वसाधारणलाई हातमुख जोड्न समेत समस्या परिरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार र पार्टी नेताहरू स्वार्थ केन्द्रित लडाइँमा व्यस्त देखिएका छन् ।

नेकपाका नेताहरूबीच पछिल्ला केही दिनयता शीर्ष तहमै दिनमा दर्जनौं ठाउँमा भेला र छलफल भइरहेका छन् । तर, ती छलफल कोरोना र लकडाउनपछिको उद्धार राहत तथा जनतामा परेका समस्या हल गर्ने विषयभन्दा पनि आफ्नो पद र कुर्सीका लागि भरहेको पाइएको छ ।

कोरोनाको महामारीका बीचमा नेकपा नेतृत्वको सरकार र नेकपाका नेताहरूले जनजीविका र जनताका समस्या छाडेर कुर्सी तान्ने र जोगाउने खेल खेलिरहेको पाइएको हो । महामारीका कारण सर्वसाधारण कष्टकर स्थितिको सामना गरिरहेको बेलामा सत्तारूढ दलका नेताहरू भने एकले अर्कालाई लडाउने र पछार्नेमा केन्द्रित रहेको पाइएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव लगायतका नेताहरू जसरी पनि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई पदमध्ये एक पदबाट राजीनामा गराउन लागिपरेका छन् । त्यसका लागि उनीहरूबीच दिनमा नै पटक पटक छलफल हुने गरेको छ । जारी सचिवालय बैठकमा उनीहरूले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका छन् ।

प्रधानमन्त्री ओली भने आफू दुवै पदबाट नहट्ने भन्दै आफ्नो अडान अडिग छन् । प्रधानमन्त्री ओलीले पनि आफू निकटको समूहमा छलफल गर्ने, जनपक्षीय सवालमा चासो राख्ने भन्दा पनि आफ्नै पद र कुर्सीका लागि बढी जोड दिने गरेको पाइएको छ ।

सर्वसाधारणलाई कोरोनासँगै लकडाउन, सलह, बाढी पहिरो आदीले सताइरहँदा झन्डै दुई तिहाइ मत पाएको नेकपा नेतृत्व स्वार्थ केन्द्रित खेलमा लाग्नु लाजमर्दो भएको राजनीतिक विश्लेषकहरू बताउँछन् । विश्लेषक श्याक श्रेष्ठ पनि नेकपा सरकार र नेकपा नेतृत्व अहिलेको समस्याका विषयमा गम्भीर नभएको टिप्पणी गर्छन् ।

अर्का वाम राजनीतिक विश्लेषक हरि रोका प्रधानमन्त्री र नेकपाका नेताहरूमा अहिले जनताले दुःख पाएको, बाहिरबाट आउन नपाएको, उद्धार नभएको, कोरोना रोकथाम कसरी गर्ने भन्नेमा सामान्य चिन्ता र चासो समेत नदेखिएको टिप्पणी गर्छन् । ‘उहाँहरूले जपक्षीय कुरा जनताको समस्याका कुरा निर्वाचनको बेला मात्र गर्नुहुन्छ, यतिबेला त दलाल, फटाहा, सामान्त र आफू चिन्ता मात्र गरिरहनुभएको छ,’ उनले राजधानीसँग भने ।

नेकपाभित्रको आन्तरिक कलहले सर्वसाधारणमा निराशा छाउन थालेको छ । तल्लो तहको पार्टी कमिटीहरूमा समेत विभाजन देखिन थालेको छ । नेकपा निकट शुभचिन्तकहरूले भने कोरोनाको महामारीको बेला नेताहरू मिलेर जानुपर्नेमा उल्टै आपसमा भिड्न दुःखद् भएको टिप्पणी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी