काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समयमै काम सम्पन्न गर्न भदौभित्रै बोलपत्र कार्य सम्पन्न गर्ने तयारी गरेको छ । हरेक वर्ष असार मसान्तमा बजेट सकाउने काम हुने गरेको गुनासो आइरहेकै बेला भौतिक मन्त्रालयले समयमै विकास निर्माण सम्पन्न गर्न भदौभित्रै बोलपत्र गर्ने तयारी गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने बताएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतबार बसेको बैठकमा मन्त्री नेम्वाङले आयोजना बोलपत्र आह्वान आर्थिक वर्ष सुरुकै महिना गरिने बताएका हुन् ।
एक वर्षमा सम्पन्न हुने आयोजना भदौ र एक वर्षभन्दा लामो समयको आयोजना दसैंतिहार, छठलगायत चाडपर्वपहिले नै ठेक्का प्रक्रिया सुरु गरिने उनको भनाई छ । प्रतिनिधिसभाअन्तर्गत समिति बैठकमा उनले मन्त्रालयले गर्ने विकास निर्माणमा असार नकुर्ने जनाउँदै समयमै पूरा गर्ने प्रतिबद्धतासमेत जनाए ।
मन्त्री नेम्वाङले देशभर अहिले झण्डै १ हजार ५ सय पुल निर्माणाधीन र तीमध्ये एक वर्षमा दुईदेखि तीन सयसम्ममात्रै सम्पन्न गर्नसक्ने क्षमता रहेको जनाए । केही वर्षअघिसम्म झोलुंगे पुल भएका ठाउँमा अहिले दुई लेनको सडक पुल आवश्यक भएको पनि उनले उल्लेख गरे ।
मन्त्री नेम्वाङले मन्त्रालयले संगठन तथा व्यवस्थापन निर्देशिका स्विकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएकामा फाइल त्यहीँ अड्किएको गुनासोसमेत गरे । भौतिक मन्त्रालयमा दरबन्दीभन्दा धेरै कम जनशक्ति कार्यरत रहेको उनले सुनाए ।
उनका अनुसार मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी पहिलो श्रेणीका १३, दोस्रो श्रेणीका ४०, इन्जिनियर १ सय १६ र सबइन्जिनियर १ सय ५० दरबन्दी रिक्त छन् ।
भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुलका नयाँ योजना थप्नेभन्दा भएकै योजना पूरा गरिनुपर्ने बताए । अहिलेसम्म संघीय सरकारले नै स्थानीय र प्रदेश सडकमा पुल निर्माण गरिरहेको जनाउँदै उनले केही समयका लागि त्यही उपयुक्त भए पनि विस्तारै हस्तान्तरण गर्दै जानुपर्ने उल्लेख गरे ।
समिति बैठकमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पहिले ‘असारे विकास’ भनिए पनि अहिले निर्माण कार्य मंसिर–पुसमै भइरहेको दावी गरे । कतिपय स्थानमा पुल निर्माण समयभन्दा ढिलाइ भइरहे पनि कतिपय स्थानमा निर्माण व्यवसायीले समयभन्दा पहिल्यै सम्पन्न गरिरहेको उनले बताए ।