काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले तेक्वान्दो, कराँते र बक्सिङबाट १३औं दक्षिण एसियाली खेलकुदमा बढइ पदक जितियो भन्दै उत्साहित हुने अवस्था नरहेको बताएका छन् । उनले वरीयतामा नेपाली खेलाडी कहाँ छन् भन्ने धरातललाई सम्झनुपर्ने बताए । ओलम्पिक क्वालिफाइनिङ हुने सक्ने गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।
नेपाल फेन्सिङ संघले थाइल्यान्डमा भएको सीयू फेन्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा शनिबार सदस्य–सचिव सिलवालले सागमा कसरी पदक आयो भनेर अध्ययन गर्नुपर्ने बताए ।
‘हामीले पदक अरू कमजोर भएर त ल्याएका होइनौं ? कागतालीमा त पदक आएको छैन ? कागतालीमा ल्याएको उपलब्धि लामो समय टिक्दैन,’ उनले भने, ‘खेल संघले गुनासो गरेर पुग्दैन । योजना बनाउनुपर्छ । राखेपसँग एउटा कोठा चाहियो भनेर माग्ने होइन । आफ्नै भवन बन बनाउनुपर्छ ।’
उनले संघहरूमा सुशासन नभएको बताए । ‘कुनै संघको बैंक खातासमेत छैन, लेखापरीक्षण गरेको छैन । पारदर्शिता गर्ने तर एकपटक अध्यक्ष भएपछि आजीवन बस्नुपर्ने ?’ उनले भने, ‘माग्नेलाई होइन, केही दिन सक्ने संघमा आउनुपर्छ ।’ उनले आफू संघलाई अनुदान दिने पक्षमा नरहेको समेत बताए ।
‘वर्षभरि के के गर्नुभयो भनेर सोध्न समेत भन्न नसक्ने अनि अनुदान चाहिने ?’ उनले भने । उनले आफू कुनै पनि संघमा नबस्ने बताए । ‘म जिन्दगीभर कुनै पनि संघमा बस्नेछैन । ओलम्पिममा पनि जिन्दगीभर जान्नँ । २० वर्ष संघमा नेतृत्व गरेर बसेको छ । तर खेल दुलाभित्र खोज्नुपर्छ ।’ सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलकुद कमर्स भएकाले खेलकुदमा लगानी बालुवामा पानी भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।
‘स्थानीय सरकारमा पैसा छ । उनीहरूले पौडी पोखरी तथा अन्य खेल संरचना बनाए भने रोजगारी सिर्जना हुन्छ । पर्यटन क्षेत्रको समेत विकास हुन्छ । खेलाडीले आफ्नो उमेरमा खेल्छ । तर, उसको भविष्यका लागि केही गर्न सकिएको छैन । तर, १३औं सागका पदक विजेतालाई सरकारले न्याय गरेको छ,’ उनले सबै संघलाई एउटै ढालोमा हाल्न नहुने बताउँदै भने, ‘संघको ग्रेडिङ गरेर उसलाइ इज्जतदार रूपमा विकासका लागि पैसा दिन सक्नुपर्छ । माग्ने बनाउनुहुँदैन ।’ उनले संघको नियमन अनुगमन गर्ने नीति समेत बनाएर अगाडि बढ्न सुझाव दिए ।
थाइल्यान्डमा भएको सीयू फेन्सिङ च्याम्पियनसिपमा टिम ईपीमा अनिता कार्की, जानुका स्याङ्तान र सीता पाठकले रजत जितेका थिए । प्रत्येकले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे ।
व्यक्तिगत ईपीमा पनि कांस्य जितेकी अनिता थप १० हजार नगदबाट पुरस्कृत भइन् । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठलगायतले पुरस्कृत गरे ।