काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन् । एनओसीका उपाध्यक्षसमेत रहेका राजवैद्यलाई बुधबार कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
यससँगै उनी ओलम्पिक कमिटीको कार्यकारी निर्देशक हुने पहिलो व्यक्ति बनेका छन् । एनओसीमा यसअघि कार्यकारी निर्देशक राख्ने प्रचल थिएन । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले राजवैद्यलाई कार्यकारी निर्देशकको आधिकारिक नियुक्तिपत्र हस्तान्तरण गरे ।
ओलम्पिक कमिटीको विधानको च्याप्टर ९ को आर्टिकल ३७ को उपधारा १ बमोजिम कार्यकारी बोर्डले एनओसीको दैनिक प्रशासकीय कार्य सञ्चालनको लागि राजवैद्यलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको थियो । ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले राजवैद्यलाई बधाई दिँदै ओलम्पिक कमिटीमा पहिलोपटक कार्यकारी निर्देशक पहिलोपटक नियुक्त गरिएकाले यो ऐतिहासिक रहेको बताएका छन् ।
नेपाल टेबल टेनिस संघका अध्यक्षसमेत रहेका राजवैद्यले लगातार तीनपटक मेन्स डबल्समा राष्ट्रिय टेबल टेनिस च्याम्पियन बनेका थिए । एकलमा भने उनले तेस्रो स्थान हासिल गरेका थिए । उनले इन्टर कलेज टीटी च्याम्पियनसिप जितेका थिए । राजवैद्य २०४६ मा अखिल नेपाल टेबल टेनिस संघमा सदस्यका रूपमा प्रवेश गरेका थिए ।
त्यसपछि उनी कोषाध्यक्ष र २०६३ मा अध्यक्षमा निर्वाचित भएका थिए । उनी दुई कार्यकाल र हाल पनि अध्यक्ष नै रहेका छन् । राजवैद्य २०११ देखि २०१५ सम्म ओलम्पिक कमिटीको सदस्य रहेका थिए । २०१९ मा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए ।






