सप्तरी, राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा मुस्लिम समुदायको ३ दिने धार्मिक सम्मेलन ‘इज्तिमा” शनिबार देखि सुरु भएको छ । तेस्रो मुलुकको प्रतिनिधिलाई सहभागी नगराउने आयोजकको प्रतिबद्घता पश्चात सरकारले कार्यक्रम गर्न बाटो खोलिदिएपछि २ लाख भन्दा बढीको सहभागीता रहेको धार्मिक सम्मेलन ‘इज्तिमा” सुरु भएको हो ।
कडा सुरक्षा र निगरानीको विच सुरु भएको धार्मिक सम्मेलनमा नेपाल र भारतको मुस्लिमको मात्र सहभागीता रहेको र अन्य मुलुकबाट सहभागी हुन आएकाहरुलाई सम्झाई बुझाई फिर्ता पठाईएको धार्मिक सम्मेलन आयोजक समितिका संयोजक मो. गफुरले जानकारी दिए ।
उनले विशुद्घ धार्मिक कार्यक्रम आपसी र सामाजिक सदभावका लागि भएकाले कसैले शंका गर्न नहुने आग्रह पनि गरे । २ लाख भन्दा बढी सहभागी मुस्लिम धर्मालम्बीहरुद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना पश्चात सुरु भएको धार्मिक सम्मेलन इज्तिमाको पहिलो दिन सहभागीहरुलाई मुस्लिम आयोगकका अध्यक्ष समिम अंसारीले स्वागत गरे लगत्तै मुख्य प्रबचन कर्ता भारत दिल्ली स्थित मर्कट जामे मस्दिजका मौलाना मो. सादले प्रबचन वाचन कार्यक्रम प्रारम्भ गरेका छन् ।
उनले सुरुमै मानव कल्याण तथा आपसी सदभावका लागि आयोजित धार्मिक कार्यक्रमलाई भव्य र सभ्य बनाउन सवै सँग आग्रह गर्दै प्रबचनको सुरुवात गरेका थिए । कार्यक्रम स्थलमा महिला प्रवेशलाई पूर्ण निशेध गरिएको छ भने पुर्व अनुमति बगेर फोटो खिच्न रोक लगाईको छ ।

यस्तै कोरोना भाईरस संक्रमित व्यक्ति भित्रिन सक्ने उच्च जोखिम तथा अन्य स्वास्थ्य उपचारका लागि कार्यक्रम स्थलभित्र ६ ठाउँमा स्वास्थ्यकर्मी राखेर हेल्थडेक्सको स्थापना समेत गरिएको छ ।
सम्मेलन स्थलमा शान्ति सुव्यवस्था मिलाउन डिएसपी तिलक भारतीको नेतृत्वमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । डिएसपी भारतीले २ सय ५० नेपाल तथा ३ सय ५० सशस्त्र गरी शान्ती सुरक्षाका लागि ६ सय सरक्षाकर्मी परिचालित रहेको जानकारी दिए ।
यस्तै कार्यक्रम स्थलमा व्यवस्थापनका लागि आयोजक समितिले २ सय ५० स्वयसेवक परिचालन गरेको छ भने ठुलो संख्यामा आएका सहभागीका लागि २ हजार २ सय अस्थायी शौचालय निर्माण गरिएको छ ।
त्यस्तै स्वच्छ खानेपानीका लागि २ सय ५० धारा जडान गरिएको छ । करिब २ सय विद्या जग्गामा २१ लाख ६० हजार स्क्वायर फिटको पण्डाल र टहरा निर्माण गरिएको छ । पहिलो दिन शनिबार २ लाख सहभागी आई सकेको र अझ आउने क्रम जारी रहेकाले यो संख्या ३ लाख सम्म पुग्ने अनुमान गरिएको आयोजक समितिका संयोजक मो. गफुरले बताएका छन् ।
नेपाल भारत सिमा नजिकै सुरु भएको कार्यक्रमलाई भारतीय सुरक्षा अधिकारीले पनि विशेष चासोका साथ हेरिरहेको छ । कार्यक्रम स्थलमा केही सादा पोशाकमा भारतीय प्रहरी निगरानी गरिरहेको समेत स्थानियले जानकारी दिएका छन् ।