के हो सनराइज बैंकको विवाद ?

काठमाडौं । पछिल्लो समय सनराइज बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)बीच विवाद थप बढेर उत्कर्षमा पुगेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सनराइज बैंकका सञ्चालक समिति र सीईओ दुवै पक्षलाई आइतबार दिउँसो ११ बजेका लागि बोलाएका छन् ।

राष्ट्र बैंकले यस बैंकभित्र चर्किएको विवाद मिलाउने प्रयासस्वरूप अहिले यस्तो हस्तक्षेपकारी नीति लिएको हो । गत बिहीबार बसेको सञ्चालक समिति बैठकमा विवाद भएपछि प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलको राजीनामाको कुरा उठेको थियो । शुक्रबार पनि बैंक सञ्चालक समितिले तीन दिनभित्र लिखित जवाफ दिन भन्दै सीईओ पौडेलसँग स्पष्टीकरण सोधेको थियो । सोही स्पष्टीकरण सोधिएकै कारण अहिले सनराइज बैंकमा सञ्चालकबीच तीव्र मतभेद भएको छ ।

सञ्चालक सदस्यमध्येबाट शैलेन्द्र गुरागाईंले बैंकका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो पद छोड्न भनेपछि सञ्चालक समिति सदस्यबीच तीव्र विवाद बढेको हो । गत बिहीबार बसेको सञ्चालक समितिको बैठकमा अध्यक्ष र सीईओको काम आफूलाई सन्तुष्ट नभएको भन्दै गुरागाईंले विषय प्रवेश गराएका थिए । सोही विषयलाई लिएर सञ्चालक समितिका सदस्यबीच मतभिन्नता भएको सो बैंक स्रोतले जनाएको छ । पछिल्लोपटक गुरागाईंले सञ्चालक समिति र व्यवस्थापनमा हस्तपेक्ष बढाएपछि सञ्चालकबीच नै विवाद बाहिर आएको बैंक स्रोतको दाबी छ ।

विवाद बढेपछि सनराइज बैंकमा राष्ट्र बैंकको हस्तक्षेप
सञ्चालक र सीइओसँग स्पष्टीकरण सोधेपछि दुवै पक्षलाई बोलाइयो

यसअघि पनि बैंक सञ्चालक समितिका सदस्यबीच मनमुटावकै शैलीमा विवाद हुँदा सीईओ नियुक्तिमा समेत समस्या परेको थियो । दुगड समूहले यसअघि सीईओमा निरज श्रेष्ठलाई ल्याउन खोजे पनि गुरागाईंले अनाश्यक हस्तक्षेप गरेका कारण श्रेष्ठ रोकिएका थिए । श्रेष्ठपछि दुगड समूहले पौडेललाई सीईओ बनाउँदा पनि गुरागाईं सन्तुष्ट थिएनन् । शैलेन्द्रले आफूनिकट सीईओ ल्याउन तयारी गरे पनि निर्णय गराउन नपाउँदा बैंक सञ्चालक समितिसँग १३ महिना अघिदेखि विवाद सिर्जना गरिरहेका छन् ।

गुरागाईंले नै अध्यक्ष र सीईओलाई लक्षित गरी विषय उठाउन खोजेकाले विवाद भएको बैंक सञ्चालक समितिका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हामी अहिले विवादभन्दा पनि सहमति गर्न छलफल गरिहेका छौं ।’ ‘अहिलेसम्म सीईओको राजीनामा भएको छैन तर उहाँलाई सोच्न समय दिएका छौं,’ उनले भने । ‘गुरागाईंले कि अध्यक्ष छोड्नुपर्ने कि सीईओ हटाउनुपर्ने प्रस्ताव गर्नुभएको हो, यसअघि पनि सीईओ नियुक्तिमा विवाद भएकाले अहिले सहज रूपमै जाने भन्ने विषयमा हाम्रो छलफल भएको छ, आइतबार वा सोमबार नयाँ कुरा आउन सक्छ,’ उनले भने ।

अझै सात सदस्य रहेको बैंक सञ्चालक समितिमा पाँच सदस्यले बैंकमा विवाद हुँदा नकारात्मक सन्देश जाने भन्दै सीईओ पौडेललाई सोच्न समय दिएका छन् । अन्य दुई सदस्यले भने पौडेलले राजीनामा दिन नहुने बताएको उनको भनाइ छ ।

सिईओ पौडेलले अपेक्षाकृत रूपमा काम गर्न नसकेको, सञ्चालक समितिलाई नटेरेको जस्ता ६ वटा आरोप लगाएर स्पष्टीकरण सोधिएको बताइएको छ । यसैगरी, सीईओ पौडेल पक्षधरका अनुसार, सञ्चालक समितिमा दुईवटा गुट रहेको छ । एउटा गुटको नेतृत्व अध्यक्ष मोतिलाल दुगडले गर्छन् भने अर्को पक्षको नेतृत्व उनका भतिज मालचन्द दुगडले । सर्वसाधारण सेयरधनीबाट सञ्चालक बनेका शैलेन्द्र गुरागाईंलाई मालचन्दले प्रयोग गर्छन् । गुरागाईंको पक्षमा लागेर मालचन्दले आफू अध्यक्ष बन्न चाहेका छन् । मोतिलाल दुगड भने अध्यक्ष पद छाड्ने पक्षमा छैनन् । त्यसो भए सीईओले राजीनामा गर्नुपर्ने सर्त गुरागाईं पक्षले राखेको छ ।

सोहीअनुसार अहिले पौडेलसँग स्पष्टीकरण सोधिएको हो । सीईओ पौडेललाई गुरागाईं पक्षले प्रमुख कार्यकारी बनाएको थियो । प्रमुख कार्यकारी बनेपछि पौडेलले अध्यक्ष दुगडको पक्षमा लागेको आरोप गुरागाईं समूहको छ । सनराइज बैंकका पौडेल प्रमुख कार्यकारी अधिकृत हुनुअघि बैंकले निरज श्रेष्ठलाई नियुक्त गरेको थियो । श्रेष्ठलाई अध्यक्ष दुगड पक्षले नियुक्त गरेको भन्दै गुरागार्इं पक्षले विवाद गरेका थिए । त्यही विवादका कारण निरज श्रेष्ठले हाजिर नै नगरी बैंक छाडेका थिए । उनले छाडेपछि पौडेले प्रमुख कार्यकारी भएका हुन् ।

यसैगरी, गुरागाईं पक्षका अनुसार सीईओ पौडेल सनराइजमा सिर्जना फाइनान्स गाभ्ने विपक्षमा छन् । उनले सञ्चालक समितिले भनेको काममा जहिले असहयोग गरेका छन् । त्यही भएर स्पष्टीकरण सोध्न बाध्य हुनुपरेको हो । त्यो विवादके कारण पौडेलले बिहीबारको बैठकमा राजीनामा गर्छु भनेर धम्क्याएको गुरागार्इं पक्षको आरोप छ ।

अहिले यस बैंकलाई राष्ट्र बैंकले हस्तक्षेप गरेपछि सञ्चालक समिति पक्ष र सीईओ दुवै पक्ष आत्तिएका छन् । त्यसैले अब आफूहरू मिलेर अघि बढ्नुपर्नेमा दुवै समूहले सहमति जनाउने बताउन थालेका छन् । सञ्चालक समितिले सीईओलाई स्पष्टीकरण सोधेको र त्यससँगै बजारभरि बैंक’bout दुष्प्रचार भएको भन्दै राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

अहिले यस बैंकको सञ्चालक समितिमा अध्यक्ष मोतीलाल दुगड, सञ्चालकमा बच्चाराज टाटर, मालचन्द्र दुगड, गुरागाईं, शारदा शर्मा, दीपक नेपाल र ओमकृष्ण जोशी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरिया भ्रमण रद्द