जनकपुरधाम । सर्पदंशबाट प्रत्येक वर्ष दर्जनौ व्यक्तिको अकालमै ज्यान गुमाउँछन् । त्यसलाई मध्यनजर गर्दै धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सर्पदंश उपचार अस्पताल निर्माण भएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । युएनडिपी र नगरपालिकाको सहयोगमा सिआईसी जनकपुरले उक्त अस्पताल निर्माण गरेको हो । झन्डै दुई करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त सर्पदंश उपचार अस्पताल निर्माणका लागि युएनडिपीले १ करोड १९ लाख रुपैयाँ सहयोग गरेको छ भने नगरपालिकाले ९६ लाख रुपैयाँको लगानी गर्ने भएको छ ।
२० शैय्याको सो अस्पताल मार्च महिनादेखि सञ्चालनमा आउने छ । अपांग मैत्री र बालमैत्री रहेको सो अस्पतालमा १२ शैय्या महिला र ८ शैय्या पुरुषका लागि राखिएको छ । नेपाली सेनाका चिकित्सकले सो अस्पतालमा सेवा प्रदान गर्नेछन् ।
गत ५ महिनामा प्रादेशिक अस्पताल जनकपुरधाममा ५ सय ७५, महोत्तरीको गौरिवास उपचार केन्द्रमा १४ र सिरहाको बन्दीपुर उपचार केन्द्रमा २ सय ९१ जना सर्पदंशका रोगीले उपचार गराएका छन् ।
सर्पदंश उपचार केन्द्र बर्दिवासका अध्यक्ष कृष्ण देवकोटाले वर्षातको बेला महोत्तरीको बर्दिवासमा एक दिनमा ४० जनासम्म विरामी आउने गर्छन् । अस्पतालमा भन्दा अहिले पनि झारफुक तर्फ जानेको संख्या बढी रहेको चिकित्सकहरु बताउँछन् । प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा. केडी दासले सर्पले टोक्ने वित्तिकै अस्पतालमा आउँदा समस्या हुँदैन तर झारफुकमै बढी समय नष्ट गरेका कारण व्यक्तिको मृत्यु हुने गरेको बताए ।
सर्पदंशका विरामीमध्ये करिब ९० प्रतिशतलाई वषालु सर्पले टोकेको हुँदैन । विषालु सर्पले टोके पनि विष मानिसको शरिरमा छोडेको हुँदैन जनकपुरधाम क्षेत्रका बरिष्ठ चिकित्सक डा. विजयकुमार सिंहले बताए । सर्पदंशपछि विषले भन्दा पनि आत्तिएर मानिसको मृत्यु हुने गरेको उनले बताए । सर्पदंशपछि विष नै लाग्ने सम्भावना न्यून हुने भएकाले आत्मविश्वास कायम राख्दै तुरुन्त अस्पताल पुग्नु पर्ने सर्पका जानकार देवनारायण मण्डलले बताए ।