लन्डन । युरोपा लिग फुटबलको उपाधि भिडन्त इटालियन फुटबल क्लब इन्टर मिलान र स्पेनिस क्लब सेभियाबीच हुने भएको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इन्टर मिलानले युक्रेनको शख्तर डोनेत्स्कलाई पराजित गरेपछि उपाधि भिडन्त गर्ने टोलीबीच टुंगो लागेको हो ।
गए रातिको खेललाई विश्लेषण गर्ने हो भने इन्टर मिलानले पछिल्लो ९ वर्षमा पहिलो उपाधि जित्ने संभावना बलियो पारेको छ । युक्रेन विरुद्धको खेलमा इन्टर ५–० ले विजयी भयो । उसका लागि बेल्जियन खेलाडी रोमेलु लुकाकु र अर्जेन्टाईनी खेलाडी लौतारो मार्टिनेजले २–२ गोल ठोके । त्यसमा ड्यानिलो डि एम्ब्रोसियोले १ गोल थपे ।
यो खेलमा गोल गरेका लुकाकुले युरोपा लिगमा लगातार १० खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । लुकाकुले यो सिजन इन्टर मिलानका लागि ३३ गोल गरेका छन् । सन् २०११ मा क्लब विश्वकप र कोपा इटालियाको उपाधि जितेको इन्टर मिलानले त्यसयता कुनै पनि उपाधि हात पार्न सकेको छैन ।
पहिलो सेमिफाईनल खेलमा म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले हराउँदै सेभिया फाइनलमा पुगेको हो ।






