संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत एक मजदुरमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतको विहारबाट अरुण तेस्रो आयोजनामा काम गर्न आएका कामदारमा कोरोना पोजेटिभ देखिएको हो । अरुण तेस्रोको ड्याम साइड मकालु गाउँपालिका–५ फ्याक्सिन्दाको क्वारेन्टाइनमा रहेका ३२ बर्षीय भारतिय नागरिकलाई कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रबक्ता रोशन श्रेष्ठले जानकारी दिए ।
एक साता अघि संखुवासभा आएका ११ जना भारतीय नागरिकमध्ये एक जना ३२ बर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो । उनीसँग आएका अन्य १० जनाको रिपोर्ट नगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । कोरोना पोजेटिभ देखिएको ३२ बर्षीय भारतिय नागरिकलाई जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन सेण्टरमा ल्याउन तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । उनको अवस्था अहिले सामान्य नै रहेको प्रमुख बाह्रकोटीले बताए ।
संखुवासभामा निर्माणाधीन अरुण तेस्रो परियोजनाको विद्युत् गृह र ड्याम साइडमा नेपाल र भारतका दुई हजार भन्दा बढी कामदार रहेका छन् । संखुवासभामा यस अघि कोरोना पोजेटिभ देखिएका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । यसअघि ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु मध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् । आइतबार एक जना कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या चार पुगेको छ ।