सिन्धुपाल्चोक । बाढीपहिरोले सिन्धुपाल्चोकमा ठुलो जनधनको क्षती र सयौ स्थानीय विस्थापित भएपछि बाढीपहिरोमा क्षतीग्रस्त भौतीक संरचना र विस्थापितलाई सुरक्षीत ठाउँमा स्थान्तरणका लागि सरकारले तयारी सुरु गरेको छ ।
बाढीपहिरो बाट आफ्नो गृहजिल्लामा धेरै ठुलो क्षती भएपछि सभाुमख अग्निप्रसाद सापकोटाको सक्रियतामा सोमबार भएको छलफलमा बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ ।
सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीहरुको प्राविधिक अध्ययन तथा पुनःसर्बेक्षण गर्ने, पहिरोबाट बेपत्ता भएकाहरुको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीहरुको अध्ययनका लागि प्राविधिक टोली सिन्धुपाल्चोक पठाउने छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्कालीन राहतको व्यबस्था गर्ने सहमती भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । यस्तै जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिने परिवारका लागि स्थानीय तहले सुरक्षित जग्गा व्यबस्थापको काम गर्ने पनि सहमती भएको शेर्पाले जानकारी दिए ।
सभामुख अग्निप्रासद सापकोटाको पहलमा भएको उच्च स्तरीय छलफलमा बाढीपहिरोबाट समस्यामा रहेका सिन्धुपाल्चोकका तिन स्थानीय सरकार बाह्रविसे,भोटेकोशी र जुगलका प्रमुखहरु समेत सहभागी थिए

सभामुख अग्निप्रासद सापकोटाको पहलमा भएको उच्च स्तरीय छलफलमा बाढीपहिरोबाट समस्यामा रहेका सिन्धुपाल्चोकका तिन स्थानीय सरकार बाह्रविसे,भोटेकोशी र जुगलका प्रमुखहरु समेत सहभागी थिए ।
त्यस्तै उच्च स्तरीय छलफल कार्यक्रममा छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा.युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, वसन्त कुमार नेम्बाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङको सहभागिता रहेको थियो ।
त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, बागमती प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङको समेत सहभागीता रहेको थियो।
त्यसैगरी छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सिन्धुपाल्चोक सहइन्चार्ज माधव सापकोटा, बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पा, जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको समेत उपस्थिति रहेको थियो ।
उच्चस्तरीय छलफलमा सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुले २०७१ को जुरे पहिरो पीडितहरुका लागि स्थानीय स्तरबाट संकलीत २ करोड २४ लाख रुपियाँ रकम यथाशिघ्र पीडितहरुलाई दिन सरकारका मन्त्रीहरुको ध्यानआर्कषण गराएका थिए । बागमती प्रदेश का अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले–‘लामो समयदेखि जनताले जनताकै लागि संकलन गरेको करोडौ रकम सरकारी खातामा थन्कीएको छ,त्यो तत्काल पीडितहरुलाई दिने वातवरण बनाउनु पर्छ ।’
वागमती प्रदेशका उद्योग,पर्यटन,वन तथा वातवरण मन्त्री अरुण नेपालले सिन्धुपाल्चोकमा विस्थापितहरुको स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउन र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिएका थिए । छलफल कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफु जुगलको लिदीमा गएको पहिरो स्थलमा गएपछि त्यहाँको अवस्था निकै नै दर्दनाक रहेको बताएका थिए ।
जुगलको लिदी लगायत अन्य स्थानका विस्थापितहरुलाई सुरषीत स्थानमा सार्नुपर्छ तर कानुनी जटिलताका कारण प्रदेश सरकारले मात्रै सबै गर्न नसक्ने बताउँदै विस्थापितहरुलाई जिवननिर्वाहको ग्यारेण्टी सहितको पुनरवासमा लैजानु पर्नेमा जोड दिएका थिए ।
छलफलमा गहृमन्त्री रामबहादुर थापाले जुरे पहिरो पीडितहरुको नाममा संकलन भएको रकम दोहोरो नहोस भनेर रोकिएकोमा अब त्यो समस्या नहुने बताए । संघीय सरकार विपदमा परेका सिन्धुबासीको समस्या समाधान गर्न तिनै तह बिचको संयन्त्र बनाउन पर्नेमा थापाले जोड दिए । अर्थमन्त्री युवराज खतिवडाले प्रभावितहरुलाई उद्धार र राहातमा स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। भौतीक पुर्वाधार मन्त्री बसन्त नेम्वाङले अरनिको राजमार्ग विस्तार स्तोरन्नतीलाई सरकारले उच्च प्राथामीकतामा राखेको बताए ।






