एम्बुलेन्स चालक, जो संक्रमितलाई अस्पताल पु-याउँदा गर्व गर्छन्

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपालमा लकडाउनपछि निकै महत्वको विषय बनेको छ एम्बुलेन्स सेवा । कोभिडको त्रासले धेरै एम्बुलेन्स सेवा बन्द भएको समयमा पनि निडर भएर कर्म गरिरहेका एम्बुलेन्स चालक दीपकप्रसाद दाहाल आइतबार सम्मानित हुँदा भन्दै थिए, ‘कर्म गर फलको आशा नगर भनेर त्यसै भनेको होइन रहेछ ।’

११ चैत २०७६ बाट देशभरि पहिलो पटक लकडाउन भएपछि एम्बुलेन्स चालकहरू भूमिगत जस्तै भए । एम्बुलेम्स नभएर प्राण गुमाउनुपर्नेका कथाहरू समाचार बनेको देख्दा दाहालको मन थामिँदैनथ्यो । दाहाल भन्छन्, ‘डर सबैलाई हुन्छ तर बाँच्न मन पनि त सबैलाई हुन्छ । एम्बुलेन्स चलाएर मान्छेको सेवा गर्न पाएकामा खुसी छु ।’

गोदावरी नगरपालिका–१० चापागाउँका दाहालले पाटन अस्पतालको एम्बुलेन्स चलाउन थालेको पाँच वर्ष भयो । उनले यस अवधिमा सयौं बिरामी बोके । तर, अहिलेजस्तो डर र त्रासबीच काम गर्नुपरेको थिएन ।

कोभिड–१९ का कारण बिरामीले बेड नपाउने स्थिति छ । उपत्यकामा दिनानुदिन कोभिड संक्रमित बढिरहेका छन् । कहिलेकाहीँ २४ घण्टा नै उनको समय एम्बुलेन्समै बित्छ । ‘हामीले पनि डराएर बिरामी बोक्दैनौं भन्यौं भने त बिरामी घरमै मर्ने भए,’ उनी भन्छन् ।

पछिल्लो समय एम्बुलेन्स चालकलाई दुव्र्यवहार हुने र छिःछि दुरदुर गरिएको खबर सुन्दा उनलाई नरमाइलो लागेको छ ।

अहिले निषेधाज्ञाको समयमा लगभग उपत्यकामा रहेका सबै एम्बुलेन्स चले । ११ चैतदेखि भएको लकडाउनको समयमा सबै डराएका थिए । १०२ र पाटन अस्पतालको एम्बुलेन्स चलेको थियो । त्यतिबेला उनी यति व्यस्त भए कि २४ घण्टामा एक छाक खाएर बिरामी लिन दैडिहाल्थे ।

‘बिरामीले अस्पताल आउन खोज्दा पनि क्युमा राख्नुपर्ने स्थिति छ । यो महामारीको रोकथाम होस्,’ उनी भन्छन् । उनी बिरामी ल्याउँदा कामना गर्छन् । ‘संक्रमित छिटै निको होस् । संक्रमित निको भएर घर फर्कंदा उसको अनुहारमा देखिएको खुसी देखेर आफ्नो मन पनि प्रफुल्लित हुन्छ,’ उनी भन्छन् ।

उनी प्रायःजसो बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म खटिन्छन् । पाटन अस्पतालमा उनीसहित १० जना एम्बुलेन्स ड्राइभर छन् । ‘सबैको कथा एउटै छ । म त प्रतिनिधि पात्र मात्र हुँ,’ उनले भने ।

पछिल्लो समय एम्बुलेन्स चालकलाई दुव्र्यवहार हुने र छिःछि दुरदुर गरिएको खबर सुन्दा उनलाई नरमाइलो लागेको छ । एम्बुलेन्स चालक, स्वास्थ्यकर्मीलाई नै समाजमा हेला गरेको सुन्दा उनलाई दिक्क लाग्छ । ‘तर, सबै मान्छे त्यस्तो हुँदैनन्, मलाई मेरो परिवार र समाजले उच्च सम्मान दिएको छ । म मेरो समुदाय र परिवारमाथि गर्व गर्छु,’ उनी भन्छन् ।

सुरु सुरुमा संक्रमित बोक्दा उनलाई डर लाग्थ्यो । परिवार जोखिममा नपरोस् भनेर उनी घरै नगएको पनि धेरै दिन छन् । शंका लाग्नेबित्तिकै पिसिआर टेस्ट गराउने भएकाले उनी अहिले ढुक्कसँग बिरामी बोक्न थालेका छन् ।

‘कतिपय आशंका भएका बिरामी हुन्छन् । केही लक्षण देखिएका बिरामी बोक्दा मास्क र पन्जा मात्र लगाएर समयमा पुग्ने कोसिस गर्छौं । संक्रमित बोक्दा पिपिई लगाएर काम गर्छौं,’ उनी भन्छन्, ‘समय समयमा जाँच हुने भएकाले हामी ढुक्क भएका छौं ।’

एक छोरो र एक छोरीका पिता दाहाल महामारी छिटै हटोस् भन्ने कामना गर्छन् । आइतबार काठमाडौंको ब्राइट बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा सम्मान गर्दा उनी निकै खुसी देखिन्थे । ‘एम्बुलेन्स चलाएर पनि सम्मानित भइन्छ भन्ने लागेको थिएन ।

निष्ठापूर्वक कर्म गरेपछि डाक्टरकै लहरमा बसेर मजस्तो एम्बुलेन्स चालकले पनि सम्मान थाप्दा मलाई आफ्नो पेसाप्रति गर्व लागेको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप