क्याटलान । कप्तान लियोनल मेस्सीको भविष्यका विषयमा बार्सिलोना र मेस्सीका पिताबीच बुधबार बसेको बैठकमा कुनै सहमति हुन नसक्दा मेस्सीको भविष्य थप अन्योलमा परेको छ ।
मेस्सी र क्लबबीच कुनै सहमति नबनेपछि एजेन्टसमेत रहेका मेस्सीका पिता बुधबार अर्जेन्टिनाबाट बार्सिलोना पुगेका थिए । मेस्सीका पिता जोर्गे मेस्सी र बार्सिलोनका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच छलफल भए पनि कुनै सहमति बन्न नसकेको बताइएको छ । छलफलमा मेस्सीका पिताका साथै मेस्सीका सल्लाहकारसमेत रहेका उनका दाजु रोड्रिगो तथा क्लबको तर्फबाट अध्यक्ष बार्टोमेउ र निर्देशक जाभियर बोर्डास समावेश थिए । ‘मेरो छोरा बार्सिलेनमा बस्ने छैनन्,’ बार्सिलोनाका अध्यक्षलाई मेस्सीका पिताले यस्तो भनेको सञ्चारमाध्यमले दाबी गरेका छन् ।
झन्डै डेढ घन्टा चलेको बैठकमा क्लबको मत भने भिन्न थियो । स्पेनिस फुटबल पत्रकार गुइल्म बाल्गले छलफलबाट कुनै समाधान ननिस्किएको र थप कुराकानी गर्नुपर्ने देखिएको बताएका छन् । ‘मलाई लाग्छ, हामी कुनै बिन्दुमा सम्झौतामा प्रवेश गर्नुपर्छ । मेस्सीले क्लब छोड्नेछन् ।’ मेस्सीको बुबा जर्जको भनाइ उद्धित गर्दै बाल्गले भनेका छन् । छलफलमा मेस्सीले यदि क्लब छाड्ने हो भने ७ सय मिलियन युरो रिलिज क्लज रहेको दोहो¥याएका छन् । सहमतिका लागि दुई पक्षबीच फेरि छलफल हुने बताइएको छ ।
मेस्सीले गत मंगलबार क्लबलाई फ्याक्समार्फत पत्र लेख्दै क्लब छाड्न चाहेको बताएका थिए । तर, क्लब भने उनलाई यत्तिकै छाड्ने पक्षमा छैन । मेस्सी र क्लबबीच सन् २०२१ सम्म सम्झौता रहेको छ । मेस्सी २० वर्षसम्म बार्सिलोनामै रहेका छन् । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी ६ पटकको बालोन डी ओर विजेता मेस्सीलाई अनुबन्धन गर्ने दौडमा अघि छ । प्रिमियर लिग क्लबले मेस्सीलाई सहमत बनाइसकेको धेरैको अनुमान छ ।
तर, मेस्सी र बार्सिलोनाबीच रिलिज क्लजको विषयलाई लिएर असझदारी बढेको छ । सम्झौताअनुसार क्लबले आफूलाई निःशुल्क छाड्नुपर्ने मेस्सीको माग छ । मेस्सीले जानकारी गराएको खण्डमा जुन १० भित्र अर्जेन्टिनी फरवार्ड निःशुल्क बार्सिलोना बाहिर निस्कन पाउने थिए । तर, कोरोना भाइरसका कारण सिजन अगस्ट २३ सम्म लम्बिएको थियो ।