लकडाउनपछि नरबहादुरले बनाए पाँच सय चित्र

काठमाडौं । कोरोना संक्रमण बढेपछि विगत ६ महिनादेखि जारी लकडाउन तथा निषेधाज्ञाले धेरै कलाकारहरू कामविहीन भएका छन् । तर, चित्रकार नरबहादुर विकेले यस अवधिलाई पूर्ण सदुपयोग गर्दै कला सिर्जनालाई निरन्तता दिएका छन् । यो ६ महिनाको संक्रमणकालीन अवस्थामा आफूले दैनिक तीनवटा चित्र नियमित बनाउँदै आएको कलाकार विकेले राजधानीलाई बताए ।

काठमाडौंको लाजिम्पाटस्थित ¥याडिसन गल्लीमा आफ्नो विके आर्ट ग्यालरी सञ्चालन गर्दै आएका यी चित्रकारले निषेधाज्ञाको समय घरमै बसेर चित्र सिर्जना गरिरहेका छन् ।

असार र साउनमा बन्दाबन्दी केही खुकुलो हुँदा आफ्नो आर्ट ग्यालरीमा पुगेर उनले कला गरेका थिए । ‘भदौबाट फेरि काठमाडौं उपत्यकामा कफ्र्यु जारी गरिएपछि घरमै बसेर कला सिर्जना गरेको छु,’ उनले बताए ।

उनलाई कामको खाँचो छैन । विदेशका विभिन्न आर्ट ग्यालरीबाट उनलाई नियमित रूपमा चित्रका अर्डर आइरहेको छ । ‘कतिपयले गुगलमा नेपालको प्राकृतिक सौन्दर्य हेरेर त्यसलाई चित्रमा उतारेर पठाउन अनुरोध गर्छन् । कसैले भने आफ्नै हिसाबले चित्र बनाउन पठाउनु भन्दै अर्डर दिने गरेका छन्,’ सोही कारण पनि आफू यस अवधिमा फुर्सदिलो नभएको उनले बताए ।

करोना संक्रमण सुरु भएयता यी कलाकारले ५ सय भन्दाबढी चित्र बनाइसकेका छन् । आफूले बनाएका यीमध्ये ९० प्रतिशतभन्दा बढी चित्र विदेशमै जाने गरेको कलाकार नरबहादुर विकेको भनाइ छ । उनले भने, ‘मैले प्रायः नेपालका हिमाल, पहाड, खोलानाल, वनजंगल, विभिन्न सुन्दर ग्रामीण दृश्य, सामाजिक जीवनलाई चित्रमा उतार्छु । सोही कारण पनि ती चित्रको माग विदेशबाटै बहुसंख्यक रूपमा हुने गरेको छ ।’

फुर्सदको बेला क्यामेरा बोकेर हिमाल पहाड, लेकबेसी हुँदै विभिन्न बस्तीमा पुग्ने यी कलाकारले सो भ्रमणका क्रममा आफूले देखेका सुन्दर दृश्यलाई क्यामेरामा उतार्ने गरेका छन् । भ्रमण सकेर फर्किएपछि तिनै तस्बिरलाई उनले चित्रको रूपमा उतार्दै आएका छन् । नेपालका हिमाल र प्राकृतिक सुन्दरतालाई चित्रमा उतार्ने कलाकारका रूपमा नरबहादुर विके चर्चित छन् । यस्ता चित्र उतारेरै उनले आफ्नो कला यात्राको दुई दशक बिताइसकेका छन् ।

सोही कारण उनलाई पर्यटकीय चित्रकार पनि भनिदोरहेछ । चित्रबाट नेपाललाई प्राकृतिक सुन्दरतालाई विदेशमा चिनाउनुमा उनको ठूलो देन रहेको छ । आफ्नो चित्र हेरेर कतिपय विदेशीहरूले नेपाल घुम्न आएको कुरा सुन्दा निकै खुसी लागेको पल उनले राजधानीलाई सुनाए । उनले भने, ‘मेरो कलाबाट नेपाललाई विदेशमा थोरै भए पनि चिनाउन सक्दा म खुसी छु । सोही कारण पनि मैले नेपालका प्राकृतिक सुन्दरतालाई चित्रमा उतार्दै आएको छु ।’

यी कलाकारले तयार गरेको चित्रको कुनै निश्चित मूल्य छैन । एउटै चित्रको न्यूनतम ५ हजार रुपैयाँदेखि ५÷६ लाख रुपैयाँसम्म पनि लिने गरेका छन् । आफूले तयार गरेको चित्रमा परेको मिहिनेत, चित्रको आकार र त्यसको महŒवले मूल्य निर्धारण गर्ने उनले बताए ।

विगतमा यी कलाकारलाई विभिन्न कामले गर्दा चित्र बनाउने फुर्सद मिल्दैनथ्यो । जसका कारण समयमै कतिपय चित्रका माग पठाउन नसक्ने समस्या थियो । तर, यो ६ महिना कोरोनाका कारण कसैसँग भेटघाट पनि गर्नु नपर्ने र कतै हिँड्न पनि काम नपर्ने भएकाले घरमै बसेर चित्र कोर्न फुर्सद मिलेको छ । आफूले दैनिक नयाँनयाँ सिर्जना गर्दा दिन बितेको पत्तै नहुने पनि उनले बताए । ‘अन्य पेसाका साथीहरूलाई काम नभएर दिन बिताउन गाह्रो छ ।

तर, म त चित्र बनाउँदा बनाउँदै दिन बितेको पत्तै पाउँदिनँ,’ उनकव् भनाइ छ । आफूले दैनिक रूपमा तीन वटासम्म चित्र सिर्जना गर्दै आएको पनि उनले जानकारी गराए । पछिल्लो समय नियमित निषेधाज्ञाका कारण चित्र बनाउन आवश्यक क्यानभास तथा रङको अभाव हुन थालेको यी कलाकारको गुनासो छ । अहिलेसम्म आफूसँग भएको स्टक सामग्रीबाट चित्र बनाएका उनले अब ती चित्रहरूलाई निषेधाज्ञा खुलेपछि कार्गोबाट विदेश पठाउने भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 963 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?