काठमाडौं । नेपाली अभिनेत्री निरिषा बस्नेत पछिल्लो समय मुम्बईका विभिन्न टेलिफिल्ममा छाउन थालेकी छन् । यसैक्रममा उनले नयाँ धारावाहिक टेली शृंखला ‘तेनाली रामा’मा काम गरेकी छन् । सोनी सब–टेलिभिजनबाट सोमबार र शुक्रबार ‘सोनी सब’बाट प्रसारण हुँदै आएको सिरियललाई अभिमन्यु सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो ।
यो शृंखलाको नयाँ प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा अभिनेत्री निरिषा एक योद्धाको रूपमा चिनियाँ युवतीको भूमिकामा छिन् । आफ्नो भूमिकाबारे उनले खुलाएकी छैनन् । तर, दर्शकलाई आफ्नो भूमिका निकै रोचक लाग्ने उनको कथन छ । उनले यो शृंखलामा चिनियाँ लवजमा हिन्दी भाषा बोलेकी छन् । जसमा उनलाई चिनियाँ युवतीको भूमिका निकै सुहाएको पनि छ ।
दुई महिना अघि कोरोना संक्रमण भएर उपचारपछि उनी यो धारावाहिक शृंखलाको सुटिङमा जोडिएकी हुन् । अब भने यो ‘तेनाली रामा’को नयाँ शृंखलामा अभिनेत्री निरिषाको अभिनय हेर्न पाइनेछ ।
नेपाली चलचित्र ‘जानी नजानी’बाट निरिषाले नायिकाको रूपमा दुई वर्षअघि डेब्यु गरेकी थिइन् । आधा दशकदेखि मुम्बईमा रहेर उनले त्यहाँका विभिन्न टेलिचलचित्रमा अभिनय गर्दै आएकी छन् । निरिषाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’मा पनि काम गरेकी थिइन् । यसमा उनको मुख्य भूमिका थियो । बस्नेतले लकडाउनअघि एक दक्षिण भारतीय फिल्ममा साइन गरेकी छन् ।