सुन्दरहरैँचा (मोरङ) । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित नमुना टोल मुसहर बस्तीमा रोग र अभावसँग संघर्ष गरिरहेका दुई परिवारलाई सामाजिक अभियन्ता कृष्णकुमार घिमिरे, सामाजिक व्यक्तित्व महेन्द्र कार्की तथा ‘सहयोगी मनहरू’ नामक संस्थाले मानवीय सहयोग गरेका छन्।
लामो समयदेखि रोगका कारण कष्टकर जीवन बिताइरहेका हल्सा मुसहर र पवित्र ऋषिदेवलाई नगदसहित खाद्यान्न सहयोग प्रदान गरिएको हो। सहयोगले आर्थिक अभावमा उपचार र दैनिक जीवन सञ्चालन गर्न कठिनाइ भोगिरहेका यी परिवारमा केही राहत पुगेको स्थानीयवासीले बताएका छन्।
सामाजिक अभियन्ता कृष्णकुमार घिमिरे र महेन्द्र कार्कीले व्यक्तिगत रूपमा नगद तथा आवश्यक खाद्यान्न उपलब्ध गराएका थिए। त्यसैगरी ‘सहयोगी मनहरू’ संस्थाका अध्यक्ष भीम अधिकारीको नेतृत्वमा पुगेको टोलीले दाल, चामल, सोयाबिन, नगद सहयोगका साथै बस्तीमा रहेका बालबालिका र अन्य विपन्न परिवारलाई कपडा वितरण गरेको थियो।
सहयोग ग्रहण गर्ने क्रममा हल्सा मुसहर र पवित्र ऋषिदेवका परिवार भावुक बनेका थिए। उनीहरूले कठिन परिस्थितिमा आफ्नो दुःख बुझेर सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।
सामाजिक अभियन्ता कृष्णकुमार घिमिरेले समाजमा अझै पनि उपचार र आधारभूत आवश्यकताबाट वञ्चित परिवारहरूको संख्या कम नभएको उल्लेख गर्दै यस्ता समुदायसम्म सहयोग पुर्याउनु सबैको साझा दायित्व भएको बताए।

“मानिसको वास्तविक धर्म भनेको दुःखमा परेकाको साथ दिनु हो। सानो सहयोगले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ। समाजका सक्षम व्यक्ति र संघसंस्थाहरूले यस्ता विपन्न परिवारलाई निरन्तर साथ दिन आवश्यक छ,” घिमिरेले भने।
सामाजिक व्यक्तित्व महेन्द्र कार्कीले मानवीय सेवाभन्दा ठूलो धर्म अरू केही नभएको उल्लेख गर्दै विपन्न समुदायको पीडा नजिकबाट देखेपछि आफू चुप लागेर बस्न नसकेको बताए।
“कसैको घरमा अभाव, रोग र भोकले पीडा दिइरहेको बेला हामीले सकेको सहयोग गर्नु नै मानवताको सबैभन्दा सुन्दर रूप हो। आज दिएको यो सहयोग अन्तिम होइन, आगामी दिनमा पनि यस्ता परिवारको साथमा उभिने प्रयास जारी रहनेछ,” कार्कीले बताए।
त्यसैगरी ‘सहयोगी मनहरू’ संस्थाका अध्यक्ष भीम अधिकारीले संस्थाको उद्देश्य नै विपन्न, असहाय र पीडित समुदायसम्म सहयोग पुर्याउनु रहेको बताए।

“हामीले सहयोगलाई दान होइन, मानवताको जिम्मेवारीका रूपमा लिएका छौं। मुसहर बस्तीका बालबालिका, ज्येष्ठ नागरिक र रोगले थलिएका परिवारको अवस्था निकै मार्मिक देखियो। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधारका क्षेत्रमा यस्ता सहयोगात्मक अभियानलाई निरन्तरता दिनेछौं,” अधिकारीले बताए।
स्थानीय बासिन्दाले समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू एकजुट भएर मुसहर बस्तीमा पुगेर गरेको सहयोगले विपन्न परिवारमा नयाँ आशा पलाएको बताएका छन्। उनीहरूले यस्ता मानवीय अभियानले समाजमा सहयोग र सद्भावको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
यसअघि पनि सामाजिक अभियन्ता कृष्णकुमार घिमिरे, सामाजिक व्यक्तित्व महेन्द्र कार्की तथा ‘सहयोगी मनहरू’ संस्थाले विभिन्न विपन्न, असहाय तथा समस्यामा परेका परिवारलाई निरन्तर सहयोग गर्दै आएका छन्। स्थानीयवासीका अनुसार यस्ता कार्यले सहयोगको संस्कृतिलाई अझ व्यापक बनाउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।
सम्बन्धित समाचार
उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र कर्मचारी सम्मानित
हिमालय मनसुन स्काउट क्याम्प–२०८३ आयोजना हुँदै, ५० भन्दा बढी विद्यार्थी सहभागी हुने
उदयपुर जिल्ला अदालतद्वारा एकै वर्षमा १८ करोड भन्दा बढी जरिवाना असुल
साजिलाल माविको अध्यक्ष चयन विवादमा
पहिराले मेची राजमार्ग अवरुद्ध
कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित
मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी






