सिन्धुली । सिन्धुलीमा दुई करोड भन्दा बढिको लगानीमा आईसोलेसन भवन निर्माण सुरु भएको छ । संघिय सरकार, बागमती प्रदेश सरकार, स्थानिय सरकार तथा समाजसेवीहरुको आर्थिक सहयोग भेन्टिलेटर सहितको आईसोलेसन निर्माण सुरु भएको हो । भवन निर्माण सुरु भएको २१ औ दिन शुक्रवार भवन निर्माणमा थप टेवा पुग्ने उदेश्यले एक युवाले आर्थिक सहयोग गरेका छन् ।
सिन्धुलीका गोलोन्जोर गाउँपालिका वडा नं. १ का घर भएका हाल सर्लाहीको ब्रह्म्पुरी गाउँपालिकामा लेखापालका रुपमा कार्यरत सचिन न्यौपानेले आईसोलेसन भवन बनाउन ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
भवन निर्माणमा थोरै भए पनि आफुले सहयोग गरेको लेखापाल न्यौपानेले बताए । ‘म आफैं कर्मथलो सर्लाहीको ब्रह्म्पुरी गाउँपालिकामा काम गर्ने क्रममा कोरोना संक्रमित भएँ । भरपर्दाे आईसोलेसन अभाव महसुस भयो,’ उनले भने ‘आफुले भोगेको समस्या अरुले भोग्न नपरोस् भन्ने उदेश्यले कोरोना बिमाबाट आएको रकम मध्ये ५१ हजार दिने निर्णय गरेको हुँ ।’
बागमती प्रदेशका प्रदेश सभा सदस्य राजन दहाल, प्रदिप कट्टुवाल, विदोद कुमार खडका लगायतका व्यक्तिको पहल तथा समन्वयमा निर्माण भैरहेको आईसोलेसन भवनका लागि हरिहरपुरगढी गाउपालिकाले ५ लाख ५० हजार, गाउँपालिका अध्यक्ष कारसाङ लामाले व्यक्तिगत ५० हजार, गोलन्जोर गाउपालिकाले ५ लाख, बागमति प्रदेशको ९७ लाख लगायतको सहयोग गरेको छ ।
५० वेडको आईसोलेसन एक महिना भित्रमा संम्पन्न गर्ने गरी कोरोना अस्पताल निर्माण भईरहेको छ । बाँकी रकम जिल्लाका ९ वटै स्थानीय तह तथा व्यक्तिबाट सहयोग प्राप्त भएको कोरोना अस्पताल भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिए । २ करोड ५४ लाख २४ हजारको लागतमा निर्माण हुने आइसोलसन कक्षको लागि हाल सम्म ६८ लाख ५५ हजार ६ सय ९ रुपैया संकलन भई काम भैरहेको अध्यक्ष श्रेष्ठले बताए ।