भिसा सेवा आजदेखि सुरु, ११ असोजसम्म विलम्ब शुल्क नलाग्ने

काठमाडौं । अध्यागमन विभागले स्थगित भिसा सेवा आज आइतबारदेखि सुरु गर्ने भएको छ । विभागले भिसा सेवा आइतबारदेखि सुरु हुने जानकारी दिएको हो ।

सरकारले १६ भदौदेखि सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । सोहीअनुसार हाल सीमित संख्यामा दैनिक ८ सय जना यात्रुले अन्तर्राष्ट्रिय उडानको सुविधा लिइरहेका छन् ।

सरकारले अब अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै दैनिक ३ हजारसम्म यात्रुलाई सेवा दिने तयारी गरेसँगै विभागले पनि स्थगित भएको भिसा सेवा फेरि सुरु गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार भिसाको म्याद सकिएकालाई ११ असोजसम्म भिसा शुल्क मात्रै लिई नवीकरण गर्ने र कुनै पनि विलम्ब शुल्क नलाग्नेसमेत स्पष्ट पारेको छ ।

विभागका अनुसार गत ८ चैतसम्म भिसा नियमित भएका विदेशी अन्तर्राष्ट्रिय उडान सुरु भएको मितिले १५ दिनभित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र सीमानाका अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गरी प्रस्थान गर्न सक्नेछन् । त्यसैगरी, सो मितिसम्म पर्यटन भिसा नियमित भएका तथा विभिन्न कारणले उडान सुरु भए पनि तत्काल आफ्नो मुलुक फिर्ता हुन नसक्ने विदेशीको हकमा भने गत ३० साउनसम्म निःशुल्क तथा त्यसपछि बढीमा मंसिर मसान्तसम्म नियमअनुसार भिसा शुल्क लिई पर्यटन भिसा नियमित गर्न सक्नेछन् ।

यसैगरी ८ चैतसम्म जुनसुकै भिसा नियमित भएकाको भिसा गत ३० साउनसम्म नियमित गरेमा विलम्ब शुल्क र जरिमाना नलाग्ने भनिएकोमा अब अध्यागमन विभागको सेवा पुनः सुरु भएको मितिले १५ दिनसम्म विलम्ब शुल्क नलिइ भिसा नवीकरण गरिने स्पष्ट पारेको छ । त्यसैगरी, पर्यटक भिसाबाट अन्य भिसामा रूपान्तरण गर्न चाहनेका लागि पनि विलम्ब शुल्क लाग्ने छैन ।

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?