कालिकोट । नेपाली सेनाको स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगितामा कालिकोटवासीको टिम बिजयी भएको छ । नेपाली सेना रणसुर गुल्म कालिकोटले आयोजना गरेको उक्त प्रतियोगितामा कालिकोट जिल्लावासीको तर्फबाट खेल्ने टिम बिजयी भएको हो ।
प्रतियोगितामा नेपाली सेना, प्रहरी र राष्टसेवक कर्मचारीको टिम र जिल्लावासीको टिम गरी दुई वटा टिमहरु प्रतिस्पर्धामा थिए । लगातार पाँच वटा गेमहरु (बेष्ट आफ फाईप) खेलिएको खेलमा नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीको सयुक्त टोलीले दुई वटा गेम जित्यो भने जिल्लावासीको टिमले तीन वटा गेम जितेर बिजयी हुन सफल भएको हो ।
बिजयी टिमलाई मेडल, प्रमाणपत्र, टफि र उप बिजेता टिमलाई मेडल र प्रमाणपत्र दिएर सम्मान गरिएको छ । जिल्लावासीको तर्फबाट खेलेको टिमले जितेको टफि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा राखिने र प्रत्यक बर्ष हुने प्रतियोगितामा उक्त टफि प्रयोग हुनेछ । हरेक बर्ष जिल्लावासीको टिमले जिते उक्त टफि जिल्ला खेलकुद विकास समितिमा रहने र कर्मचारीहरुको टिमले जिते जिल्ला प्रशासन कार्यालयमा राखिने सेनाले जनाएको छ ।
नेपाली सेनाले यस बर्षबाट सुरुवात गरेको मैत्रीपुर्ण भलिबल प्रतियोगिता प्रत्यक बर्ष निरन्तरता दिने रणसुर गुल्मका गुल्मपती मेजर उत्तम कटुवालले बताए । उनले भने, जिल्लामा सबैको चासो र लोक प्रिय खेल भलिबल भएकाले नेपाली सेना दिवसको अवसरमा भलिबल प्रतियोगिता राखिएको हो । यसले नेपाली सेना र नागरिकहरु बीचको सम्बन्ध थप सुमधुर हुने र भलिबल प्रतिको स्थानिय युवाहरुको लगाव पनि बढ्नेछ । जिल्लामा अन्य खेलहरु भन्दा भलिबल प्रति स्थानीय युवाहरुको आकर्षण छ । हरेक गाँउमा भलिबलका जिल्ला र क्षेत्र स्तरीय खेलाडीहरु रहेका छन् । जिल्लाबाट करीव एक दर्जन खेलाडीहरुले राष्टिय स्तरका प्रतियोगितामा पनि भाग लिन सफल भएका छन् ।
कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष तथा राष्टिय खेलाडी ऐनबहादुर शाहीले नेपाली सेना दिवसका अवसरमा भलिबल प्रतियोगिता आयोजना गरेर भलिबल खेलको प्रबद्र्धनमा महत्वपुर्ण भुमीका खेलेको बताए । उनले आफुहरुले मोचीको बल बनाएर खेल्न सुरुवात गरेको भलिबल अहिले गाँँउ गाँउमा जिल्ला तथा क्षेत्रीय स्तरका खेलाडीहरु उत्पादन हुने जिल्लाको ठुलो उपलब्धी भएको बताए । उनले भने, सेनाले आयोजना गरेको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।

सेना दिवसका अवसरमा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगिता बिजयी टिम । तस्बिर :विश्वनाथ सिम्खाडा / कालिकोट