काठमाडौं । फागुन पहिलो साता रौतहटको मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेको सो महायज्ञ भगवान शिवको विशेष किसिमको अनुष्ठान हो ।
रौतहट र बारा जिल्लामा मात्र मनाइने यो पर्व स्वयम् यहीका बासिन्दाले समेत उपेक्षा गरिरहेको स्थिती थियो । अन्य क्षेत्रमा मनाइने रुद्राक्ष यज्ञमाथि गर्व गर्ने तर आफ्नै मौलिक संस्कृति बिर्सदै गएको स्थितिमा मौलापुर नगरपालिकाले आयोजना गरेको मधानी महायज्ञले स्थानीयलाई आफ्नो मौलिक संस्कृतिलाई गौरव ठान्न मात्र सिकाएन, मधानी यज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ ।

मंगलबार महायज्ञको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मधानी महायज्ञ आयोजनाले यसलाई विश्वस्तरमा स्थपित गरेको बताएकी थिइन् । पर्यटन प्रवर्द्धन गर्न तथा भ्रमण वर्ष २०२० लाई ठूलो सहयोगी हुने बताउँदै राष्ट्रपति भण्डारीले महायज्ञ आयोजना गरी मौलिक संस्कृति उजागर गरेकोमा मौलापुर नगरपालिकालाई धन्यवाद दिइन् ।
त्यसै क्षेत्रका प्रदेश सांसद कुन्दन कुश्वाहाले मधानी महायज्ञ भगवान शिवको राज्य अभिषेकको अवसरमा मनाइने उत्सव हो जो परम्परा देखी चली आएको बताए । यसलाई स्थापित गरेकोछ यो कार्यक्रमले ।
उनले भने, “हिजो अस्ति अन्य क्षेत्रमा मनाइने रुद्राक्ष यज्ञ, अश्वमेध यज्ञजस्ता पर्वमाथि हाम्रै क्षेत्रका नागरिक गर्व गर्ने तर हाम्रो आफ्नो मौलिक संस्कृति लोप हुने स्थिती थियो । तर यस महायज्ञको आयोजनाले हामीलाई आफ्नै संस्कृतिप्रति गौरव गर्न सिकाएको छ ।“
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले समेत महायज्ञ आयोजना गरेकोमा नगरपालिकाको प्रसंसा गरे । आफ्नो मौलिक एवम पृथक संस्कृतिलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन नगरपालिकाको कदम सराहनीय भएको भन्दै आफ्नै संस्कृति संरक्षण एवम् प्रवर्द्धन गर्न सबैलाई प्रदेश सरकारको तर्फबाट आग्रह गरे।






