सतीप्रथा र छुवाछूत : हिन्दू समाजका दुई कलङ्क

गुरु द्रोणाचार्य पाण्डवहरूलाई सँगै लिएर वनतिर घुम्न गएका थिए । त्यहाँ उनीहरू के देख्छन् भने एक जना युवक एक्लै धनुर्विद्याको अभ्यास गरिरहेको छ । द्रोणाचार्यले नजिकै गएर हेरे । धनुर्धारीले उनकै मूर्ति राखेर अभ्यास गरिरहेका थिए । धनुर्धरले अभ्यास छाडेर गुरुलाई प्रणाम गरे । उनी त्यही एकलव्य थिए जसले धनुर्विद्या सिकाउने अनुरोध गर्दा गुरु द्रोणले अस्वीकार गरेका थिए । द्रोणको विचारमा उनी धनुर्विद्या सिक्न अयोग्य थिए, किनकि उनी निषादपुत्र (शूद्र ) थिए । तथापि धूर्त गुरुले गुरुदक्षिणामा उनको काटेको बुढीऔंला लिए ।

कर्णलाई जन्मनासाथ उनकी आमा कुन्तीले नदीमा बगाइदिएकी थिइन् । नदीमा बगिरहेको बेवारिसे शिशुलाई एकजना सूत (कथित तल्लो जात)ले लगेर पाले । कर्ण परशुरामकहाँ गएर आफूलाई ब्राह्मण पुत्र भनेर आयुधविद्या सिके । किन्तु उनी ब्राह्मण होइनन् भन्ने पत्तो पाएपछि गुरुले कडा श्राप दिए । तिनै कर्णलाई द्रौपदी स्वयंवरमा सहभागी हुन वञ्चित गरियो । मौका पाएको भए द्रौपदी उनकी हुनेवाला थिइन् । विदुर तत्कालीन भारतका महानतम नीतिज्ञ थिए । उनी राजाकै छोरा भए तापनि गद्दीका हकदार हुन पाएनन्, किनकि विदुर दासीतर्फका छोरा थिए ।

महिलाप्रतिको विभेद र तिरस्कारको आख्यान पनि कम दुःखदायी छैन । सीता र रामसँगै वनगमन गरेका थिए । रामलक्ष्मण यताउता गरिरहन्थे तर सीता तोकेको स्थान र तोकेको मर्यादामा रहन्थिन् । उनलाई रावणले बलात् अपहरण ग¥यो । सीताले आफ्नो सतित्व प्रमाणित गर्न अग्नि परीक्षा उत्तीर्ण गर्नुप-यो । किन्तु रामलक्ष्मणले कुनै परीक्षा उत्तीर्ण गर्नु परेन । सात वर्षकी गोमाको विवाह ७० वर्षका वृद्धसँग भयो ।

कृष्णको परमधाम गमनसँगै रुक्मिणीसमेत आठै जना पटरानीहरू सती गए । सीताले पतिबाट प्राप्त तिरस्कारका कारण रसातल प्रवेश गरिन् । सतीदेवी पिताद्वारा भएको पतिको अवहेलना सहन नसकेर अग्निप्रवेश गरिन् । पाण्डुकी कान्छी पत्नी माद्री पतिको शवसँगै सती गइन् । रावणपत्नी मन्दोदरी पति मारिएपछि देवर विभीषणसँग बसिन्, तर बुहारी सुलोचना इन्द्रजितको सती बनिन् । विष्णुले जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतित्व हरण गरेपछि वृन्दा विष्णुलाई झार, पत्थर, वृक्ष र घाँस बन्ने श्राप दिएर सती गएकी थिइन् । यसरी पौराणिक कालमै पनि अन्यायमा परेका सतीले श्राप दिने गरेको पाइन्छ ।

सर्वसाधारण नारीलाई नाई नाई भनेर रुँदारुँदै पतिको लाससँग निर्मम तरिकाले पोल्ने चलन थियो, सती भाग्लिन् भनेर लाससँग डोरीमा बाँधिन्थ्यो

मानव इतिहास गौरवमय मात्र छैन । इतिहास दारुण, वीभत्स र रौरवमाय पनि छ । एक समय थियो जब चीनका बादशाहको मृत्यु हुँदा असंख्य महिला र पुरुषलाई लाससँगै गाडिन्थ्यो । शवयात्राको समयमा बाटोमा फेला पर्ने साराका सारा मानिस र पशुपक्षीलाई सती पठाइन्थ्यो । चीनमा सती पठाउनुको कारण सम्राटको मृत्युपछि पनि उनलाई बन्दोबस्तीको आवश्यकता पर्ने विश्वास थियो भने नेपालमा सती जानुलाई ठूलो पुण्यको काम मानिन्थ्यो । नेपालमा पत्नी मात्र नभई मासती (छोरो मर्दा आमा सती जाने) चलनसमेत रहेको पाइन्छ । प्रताप मल्लका मठ्याहा छोरा भागुतु मर्दा उनकी आमा सती गइन् । पाटनका राजा विश्वजित मल्ल मर्दा आमा सती गइन् ।

नेपाल र भारतमा नारी मात्र नभई पुरुषलाई समेत सतु (पुरुष सती) पठाएको पाइन्छ । कवि वाणभट्टरचित ‘हर्षचरित’मा राजा हर्षवर्धनका बाबु प्रभाकरवर्धन मर्दा धेरै जना रैती सतु गएको वर्णन गरेका छन् । गोरखाली राजा नरभूपाल शाहको शवसँग एकजना प्यारो ‘चाकर’लाई समेत सती पठाइएको थियो । आफ्नी प्राणप्रिया रानी कान्तिमती मर्दा स्वामी महाराज रणबहादुर शाह शोकाकुल भई ‘सती जान्छु’ भन्दै बिलौना गरेका थिए ।

विभेदपूर्ण कुप्रथाहरू राज्यको संरक्षणबिना अगाडि बढ्न सक्दैनन् । कुप्रथाहरू प्रायः समाजभन्दा शक्तिमा आधारित हुन्छन् । पूर्वकालमा शासकले चाहेमा पानी नचल्ने जातको पानी चलाएको र पानी चल्ने जातका व्यक्तिलाई पानी नचल्ने जातमा झारेका उदाहरण पाइन्छन् । जयस्थिति मल्लको पालादेखि ‘मनुस्मृतिमा’ आधारित भनी गरिएको कथित ‘सामाजिक सुधार’ले छुवाछूत र महाविभेदलाई संस्थागत गरेको थियो । पछि राजा सुरेन्द्रको पालामा प्रधानमन्त्री जंगबहादुर राणाले लागू गरेको मुलुकी ऐनले सामाजिक विभेदलाई थप बल प्रदान ग¥यो ।

लिच्छवि राजा धर्मदेवको मृत्यु हुँदा उनका उत्तराधिकारी राजा मानदेवले माता राज्यवतीलाई सती जानबाट रोकेका थिए । यसरी राजाले नरोकेको भए उनी सती जानै पथ्र्यो । राजा प्रतापसिंह शाह युवावस्थामै बिते । उनकी पटबन्दा रानी राजेन्द्रलक्ष्मीलाई सती जानु परेन । तर, गर्भवती ल्याइते मैजु रानीलाई तत्काल सती जान स्थगित राखी शेरबहादुर शाह जन्मेपछि दिवंगत पतिको जुत्ता छातीमा राखेर जिउँदै जलाइयो । पछि रणबहादुर शाहलाई तिनै विमातृ भाइ शेरबहादुरले काटे । यसरी रणबहादुर शाह मारिएपछि तत्काल शक्तिमा रहेका भीमसेन थापाले आफ्नी भतिजी रानी ललित त्रिपुरा सुन्दरीलाई सती पठाएनन् । किन्तु हेलम्बुमा निर्वासित जीवन बिताउन बाध्य पारिएकी रानी राजराजेश्वरीलाई १४ दिनपछि काठमाडौं ल्याएर पोलियो । सतीप्रथालाई सकेसम्म कम गर्ने प्रयास गरेका जंगबहादुरको शवसँग दर्जनौं निर्दोष नारी पोलिए । सर्वसाधारण नारीलाई नाइँनाइँ भनेर रुँदारुँदै पतिको लाससँग निर्मम तरिकाले पोल्ने चलन थियो । सती भाग्लिन् भनेर लाससँग डोरीमा बाँधिन्थ्यो । सतीको रोदन नसुनियोस् भनेर जोडजोडले बाजा बजाउने गरिन्थ्यो ।

सतीले आशिष दिएको र श्राप दिएको पुग्छ भन्ने जनविश्वासले गर्दा कतिले आशिषसमेत माग्दथे । नेपाल र कम्पनी सरकारबीचको युद्धमा वृद्ध सेनापति भक्ति थापा मारिएपछि सती जान तयार भएका उनका दुई जना पत्नीसँग गोरखाली सिपाहीहरूले आशीर्वाद मागेका थिए । काजी भीम मल्ललाई हुँदै नभएको दोष लगाई मारियो । उनकी पत्नी भूवनलक्ष्मीले पतिको सती जानुअघि नेपाल दरबार (राज्यशक्ति)लाई दिएको श्राप सम्बन्धमा अहिले पनि चर्चा हुने गर्दछ ।

सतीप्रथा सुन्दै कहाली लाग्दो अभिशाप हो । तर, यो अमानवीय अत्याचार समाजबाट स्वीकृत थियो । अहिलेका मानिसलाई यी परिघटना सुन्दा आश्चर्य र क्षोभमिश्रित कम्प छुट्न सक्छ । किन्तु, यो इतिहासको कठोर र क्रुर सत्य हो । यहाँ सतीप्रथाको प्रसंग उठाउनुको कारण के हो भने कुनै समयमा समाजमा जरो गाडेर बसेका र आम रूपमा स्वीकृत परम्परापछि गएर अचम्म लाग्दा र असम्भव प्रतीत हुन थाल्दछन् । जातीय छुवाछूत अन्त्य भएपछि भविष्यका सन्ततिलाई यो कलंक पनि आश्चर्यचकित पार्ने कुप्रथा महसुस हुनेछ । तर, यो प्रथा निमिट्यान्न हुन विलम्ब हुँदै छ ।

समाजमा चलेका यस्ता कुरीतिलाई फकाएर र सम्झाएर मात्र हटाउन गाह्रो हुँदोरहेछ । सतीप्रथालाई व्यवस्थित पार्दै बिस्तारै हटाउने प्रयत्न भीमसेन थापा, जंगबहादुर र वीरशमशेरले पनि गरेका थिए । तर, चन्द्रशमशेरले १९७७ साल असार २५ गतेका दिन सतीप्रथा पूर्णरूपेण अन्त्य भएको घोषणा गरेपछि मात्र बन्द भयो । त्यस बखत बलियो सरकार र राजाले नगर्नू भनेर आदेश गरेपछि सबैले पालना गर्ने हुँदा सजिलै लागू हुन्थ्यो । त्यस बेलाका शासकले छुवाछूतलाई दण्डनीय बनाएको भए उसै बखत यो प्रथाको अन्त्य हुने सम्भावना प्रवल थियो । राजा रणबहादुर शाहले छुवाछूत अन्त्य गर्ने पहल गरेका थिए । किन्तु स्थिर मति नभएका लफंगा राजाबाट यो कार्य पूर्ण हुन सकेन ।

जयस्थिति मल्लको पालादेखि ‘मनुस्मृतिमा’ आधारित भनी गरिएको कथित ‘सामाजिक सुधार’ ले छुवाछूत र महाविभेदलाई संस्थागत गरेको थियो

यदि शक्तिमा हुने वर्ग या व्यक्तिको दृढ अठोट नहुने हो भने कानुन मात्र बनाएर समाजमा जरा गाडेर बसेको कुप्रथालाई पूर्णतः निर्मूल गर्न कठिन छ । राजा महेन्द्रले नयाँ मुलुकी ऐन लागू गरेपछि कथित तल्लो जातिमाथि गरिने कठोर र निन्दनीय व्यवहारको अन्त्य भयो । तथापि छुवाछूत र विभेदको अन्त्य हुन सकेन । जसरी सतीप्रथाको अन्त्यलाई समाजको शक्तिशाली वर्गले सहजै स्वीकार ग¥यो, त्यही रूपमा छुवाछूत र वहिष्करणलाई भित्री मनबाट स्वीकार गर्न चाहेन । सती पठाउनु भनेको भौतिक र मूर्त घटना हुँदा लागू गर्न र दण्डनीय बनाउन सहज थियो । छुवाछूत र विभेदको प्रवृत्ति अमूर्त र मनोवैज्ञानिक विषय हुँदा यसमा मानसिकता परिवर्तनको जरुरत पर्दोरहेछ । समाजको निमुखावर्गको आवाजसमेत झिनो हुने हुँदा शासकवर्ग र व्यक्तिलाई त्यसले घच्घच्याएर बाध्य पार्न पनि सकेन ।

हालको संविधानले कुनै पनि व्यक्तिलाई छुवाछूत वा भेदभाव नगरिने, उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कसैलाई भेदभाव गर्न नपाइने, कसैलाई पनि उच्च या नीच दर्शाउने व्यवहार गर्न नहुने, कार्यस्थलमा भेदभाव नगरिने र छुवाछूत या भेदभावजन्य व्यवहार गरेमा गम्भीर सामाजिक अपराधका रूपमा कानूनद्वारा दण्डनीय हुने व्यवस्था छ । तर, अझै पनि कहीँ प्रकट र कहीँ नजानिँदो तरिकाले छुवाछूत र भेदभाव भइ नै रहेको छ । छुवाछूतको अन्त्य भनेको फगत छोइछिटोको अन्त्य होइन । यो समग्र व्यवहारमा सम्बन्धित पक्षले अनुभूत गर्न पाउनेगरी लागू भएको हुनुपर्दछ ।

समाजमा अझै पनि प्रत्यक्ष रूपमा नभई परोक्ष तरिकाले तर पीडित पक्षले अनुभव गर्नेगरी विभेद भइरहेको छ । ठाउँठाउँमा सार्वजनिक धारा, कुवा र मन्दिर प्रवेशमा सामाजिक प्रतिबन्ध लगाइएका समाचार प्रकाशित भइरहेको छन् । कार्यालय, बैठक, खाना खाने ठाउँ आदि जस्ता स्थानमा अझै पनि गोपनीय र लाक्षणिक रूपमा विभेद भइरहेको सम्बन्धित व्यक्तिहरूले अनुभव गरेको पाइन्छ ।

छुवाछूतको विभेद सम्बन्धमा धेरै सुधार भएको छ । परन्तु, यो पर्याप्त छैन । परापूर्वदेखि चल्दै आएको यो सामाजिक कलंकलाई अब यो राष्ट्रले सहन गर्न सक्दैन । विभेदको भावनालाई समूल नष्ट गर्न अझै धेरै गर्न बाँकी छ । यसका लागि राजनीतिक नेतृत्व, बौद्धिक व्यक्ति, पण्डित वर्ग, सरकार, कर्मचारी र आम नागरिक समाजमा नैतिक र मानवीय चेतनाको अभ्युदय हुनु आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 698 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह