काठमाडौं । सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको भैरवकुण्ड जलविद्युत् आयोजना लिलामीमा पर्ने भएको छ । आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले लिलामीको सूचना निकालेको हो ।
आयोजनामा कुल ४० करोड लगानी गरेका बैंकले सार्वजनिक सूचना प्रकाशित गरी आयोजना लिलामी गर्ने जानकारी दिएका छन् । सञ्चालकको विवादका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामी हुने भएको जनाइएको छ ।
सो आयोजनालाई सानिमा बैंकको नेतृत्वमा बैंक अफ कमाठमाडौं, एनएमबी बैंक, एनआईसी एसिया बैंक, मञ्जुश्री फाइनान्स र ग्लोबल आईएमई बैंकले ऋण लगानी गरेका छन् । पटकपटक ऋण तिर्न ताकेता गर्दा आयोजनाका कुनै पनि प्रवद्र्धक सम्पर्कमा नआएपछि लिलामी गर्न लागिएको सूचनामा उल्लेख छ । यसअघि गत १६ पुसमा बैंकले सूचना प्रकाशित गरी ३५ दिनभित्र ऋण तिर्न आउन आग्रह गरेका थिए । सो आग्रहलाई अस्वीकार गरेको भन्दै बैंकले बिहीबार पुनः सूचनामार्फत आगामी १५ दिनभित्र आयोजना लिलामी गर्ने बताएका हुन् ।
सिन्धुपाल्चोकको लार्चामा सञ्चालनमा रहेको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोसीको बाढीले क्षति पुगेको परियोजना पुनर्निर्माण सम्पन्न गरेर पुनः सञ्चालनमा आएको थियो । कर्जाको सुरक्षणका लागि बैंकमा धितो रहेको परियोजनालगायत चलअचल सम्पत्ति लिलामी हुने सूचनामा उल्लेख छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिस्ट्रारको कार्यालयमा सो कम्पनी २०५९÷६० मा दर्ता भएको देखिन्छ ।
बैंकबाट ऋण लिँदा कम्पनीले सिन्धुपाल्चोकको साबिक तातोपानी गाविसका विभिन्न कित्ता जग्गा र सो जग्गाको तीन मेगावाट क्षमताको आयोजना, सम्पूर्ण घर तथा टहरा, उपकरण, मेसिनरी तथा चलअचल सम्पत्ति धितो राखेको छ ।
बैंकले सो आयोजना २३ जना सञ्चालकलाई कालोसूचीमा राखिने जनाएको छ । प्राकृतिक विपद्का कारण समस्यामा परेको सो आयोजनाबाट उत्पादित विद्युत् ३४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सबस्टेसनमा जोडिएको छ ।