वीरगन्ज । नेकपा एमालेको सरकार संस्थागत भ्रष्टाचारमा लिप्त रहेको आरोप नेपाली कांगे्रसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । शुक्रबार वीरगन्जमा भएको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता डा. महतले यस्तो दाबी गरेका हुन् ।
उनले संस्थागत भ्रष्टाचारको सन्दर्भ जोड्दै सरकारको प्रवक्तासमेत रहेका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा संस्थागत भ्रष्टाचारको नमुना मात्र भएको बताए । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्टिकरण दिनुपर्ने उनको भनाइ छ । संस्थागत भष्टाचार, जनविरोधी क्रियाकलाप र सरकारको दमनविरुद्ध अब कांग्रेस एक भएर विरोधमा जान्छ उनले भने ।
कांग्रेसभित्र व्यक्तिवादी चरित्र हावी भएकोको कारण गुट उपगुट पनि मौलाएको नेता महतले स्वीकारे । अब भने पार्टीको गुट उपगुट निरुपण गरी सरकारविरुद्ध सदन र देशव्यापी विरोधका कार्यक्रम गरिने उनले बताए ।
डा. महतले मुलुकभित्र उत्पादन बढेर आयात मूल्य नघटेको दावी गरेका छन् । मुलुकभित्र उद्योगधन्दा फष्टाउने गरी वर्तमान सरकारले काम गर्न सकेन । जसले गर्दा कच्चा पदार्थ आयातमा ह्रास आइ आयात मूल्य घटेको उनको दावी छ । अस्थिर राजनीतिक परिवेशबाट स्थिर राजनीतिक परिवेशमा मुलुक आउँदा ह्वात्तै आर्थिक बृद्धिदर दुई अंकमा आउनु पर्ने थियो । तर कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको झन्डै दुईतिहाइको सरकारको कारण बल्ल ६ अंक मात्र बृद्धिदर हुनु विडम्बना भएको नेता महतको तर्क छ ।
जनविश्वास अनुसार वर्तमान सरकारले काम गर्न नसक्दा यत्रो करको दर बढाएर पनि राजश्व संकलन घटेको, बेरोजगारी बढेको, उद्योगको आन्तरिक उत्पादन घटेको उनले जिकिर गरे ।